सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दलित समुदायमाथि उत्पीडन बढ्दै गएकाले त्यसलाई रोक्न तथा मुक्तिका लागि भन्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजन गरी अगामी जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गरिने राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजकले बताएका छन् । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा.निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए । आफूहरुले गर्ने गोलमेच सम्मेलन कुनै राजनीतिक पार्टी या संस्थाबाट प्रेरित वा परिचालित नभइ नेपाल र दालित समुदायका लागि मौलिक साध्य हुने विश्वकर्माले ठोकुवा गरे । सदियौं देखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा संघर्ष अभियानको समिक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरुमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य तीनवटा एजेण्डमा बहस हुने जानकारी दिए । सामाजिक अभियान्ता तथा लेखक होमराज आचार्यले २१ औं शताब्धीमा पनि दलित समुदायमाथि छुवाछुत र अपमानको डण्डा वर्षिनु दुर्भाग्य भएको बाताए । देशमा भएको लामो संघर्ष र परिवर्तनपछि दलित तथा उत्पीडित वर्गले न्यायसहित समानतापूर्वक बाँच्न पाउने अधिकार उपभोग गर्न नपाएको बताउँदै भने, ‘परिवर्तन त भयो त्यही परिवर्तनसँगै दलितमाथि नयाँ किसिमले उत्पीडन लादिन थालेको छ ।’ ‘यसै सन्दर्भमा गोलमेच सम्मेलनले त्यस किसिमको षड्यन्त्रलाई चिर्ने आशा पलाएको छ, आयोजकलाई शुभकामना,’ आचार्यले थपे । गोलमेच सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक(अग्नी शिखा)ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरुबाट सम्मेलनको लागि काठमाडौं आउने क्रम जारी रहेको जानकारी दिदै, सम्मेलन दलित मुक्तिको लागि कोषे ढुङ्गा सवित हुने विश्वास लिए । राष्ट्रिय दलित गोलमेच सम्मेलन मुल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले सात दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै वैचारीकी र नविन आन्दोलनको आवश्यकता रहेको बताए । गोलमेच सम्मेलनका सचिवालय सदस्य तारासिंह विकले ६० लाख दलितलाई गोलमेच सम्मेलनले एक ठाउँमा ल्याउने आधार खडा गर्ने विश्वा लिए । अर्का सचिवालय सदस्य तथा अधिवक्ता निर्मला परियारले दलित उत्पीडनविरुद्ध विभिन्न संघसंस्था तथा व्यक्तिहरुले अभियान चालाए पनि खासै फरक नपरेकाले गोलमेचबाट नयाँ निकास निस्किने बताईन् । मुल आयोजक समिति सदस्य मनोज रामले आजको समयमा पनि तराई क्षेत्रमा व्यापकरुपले दलित समुदायमाथि अन्याय भइरहेको र हालचालै दलितको घरलाई डोजर चलाएर विस्थापित गरिएको बताए ।