सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आन्दोलनतरत सावर्जनिक यातायात व्यवसायी र सरकारबीच मध्यरातमा सहमति भएपनि राजधानी उपत्यकामा सार्वजनिक यातायातका साधान नचल्दा यात्रुले सास्ती खेप्न परिरहेको छ । व्यवसायी र सरकारबीच सोमबार मध्यराति आन्दोलन स्थगन गर्ने तथा सार्वजनिक यातायातका साधान चलाउने गरी सहमित भएको थियो । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली स्थगन गर्न सरकारले पत्राचार गर्ने भएपछि दुई पक्षबीच सहमति भएको हो । मध्यरातमा दुई पक्ष बीच सहमति भएपनि मंगलबार मध्याह्नसम्म सड्कमा सावर्जनिक यातायातका साधन चलेका छैनन् । गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारिक जानकारी गराइसकेपछि मात्रै गाडी चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले जानकारी दिए । उनका अनुसार मध्यरातमा सरकार र व्यवसायीबीच गठन भएको संयुक्त कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमतिको जानकारी गराउने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जानकारी दिने र प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई स्थगनका लागि पत्राचार गर्ने सहमति भएको छ । ‘यो सबै प्रक्रिया पूरा हुन आज दिनभरजसो समय लाग्न सक्ने भएकाले अहिलेनै गाडी नचलाएका हौं । जति चाँडो गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारिक जानकारी दिन्छ । हामीले पनि त्यहि अनुसार गाडी चलाउन अनुमति दिन्छौं’, उनले भने । यातायात व्यसायीले यसअघि आन्दोलन घोषणा गर्दा मागमा राखेका सात ओटै बुँदा सम्बोधन हुनेगरी समहति भएको स्वाँरले बताएका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका निजी प्रयोजनका लागि दर्ता भएका चार पांग्रे र दुई पांग्रे सवारी साधनलाई समेत सावर्जनिक यातायात सरह यात्रु बोक्न पाउने गरी नियमावली जारी गरेको थियो । सोही अनुसारको व्यवस्था अन्य प्रदेशले समेत अपनाउने भएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए । व्यवसायीले आन्दोलनका कारण सोमबार दिनभर यात्रुहरूको बिचल्ली भएको थियो ।