सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्र : एक सडक आयोजनाअन्तर्गत जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेसका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गरेका हुन् ।सुशासन र विकासमा जोड दिँदै उहाँले भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभइ रकेटको शैलीमा काम गर्न आग्रह गरे । कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी वाग्मती नदीको सहायक नदी मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेसका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइनेछ । साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पुर्याइनेछ । रु ४९ अर्ब ४२ करोडको सो आयोजनाको हेड वक्र्समा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो ।प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूमीका रुपमा रहेको मधेस प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताए । उनले चुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुर रंगशालाको निर्माण, छोरी पढाऔँ अभियानजस्ता कामलाई गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गरे ।