सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । बालाजु पौडी पोखरी सञ्चालन भएको पहिलो दिन २०५ जनाले सेवा लिँदा ४० हजार १ सय रुपैयाँ शुल्क संकलन भएको छ । जसमा १३२ जना पूरा शुल्क तिर्ने थिए भने विद्यार्थी छुट लिने ७३ जना रहेका छन् । विद्यार्थी छुट शुल्क १५० रुपैयाँ हो । तीमध्ये ५५ जनाले लकर सुविधा लिए । बालाजु वाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जनविक्रम बस्नेतका अनुसार यो तथ्याङ्क दिउँसो ३ बजेसम्मको हो । विहान वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठले नरिवल फोडेर पोखरी सञ्चालनको शुभारम्भ गरेकी हुन् । १८ लाख लिटर पानी भएको पोखरीको लम्बाइ ५० मिटर र चौडाइ १८ मिटर छ । गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरीको पानी शुद्ध बनाउन पानी प्रशोधन प्लान्ट छ । पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली छ । स्नान घर, शौचालय र लकर सुविधा उपलब्ध गराइएको छ । पोखरीको छेउमा १५० जना दर्शक बस्ने क्षमताको ठाउँ छ । पोखरीमा जीवन रक्षाका लागि नेपाल पौडी संघसँगको सहकार्यमा १ जना वरिष्ठ जीवन रक्षक, १ जना महिला अनिवार्यसहित ३ जना जीवन रक्षक, १ जना पानी प्रशोधन प्राविधिकसहित ५ जना जनशक्ति परिचालन गरिएको छ । बालाजु बाइसधारा उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा एक्काइसवटा धारा निर्माण भएका थिए । पछि रणबहादुर शाहले बिचको एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । वि.सं. २०१८ सालमा राजा महेन्द्रको पालामा बालाजु बाइसधारा उद्यान निर्माण भएको हो । सर्वसाधारणका लागि २०२१ सालदेखि खुला भएको हो । २०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनःनिर्माण थालिएको थियो । ७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुनःनिर्माण गर्न पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा निर्माण कबोल गरेको थियो । निर्माणको खर्च रकम ७ करोड ४३ लाख ३१ हजार १९७ रुपैयाँ हो । कामका लागि २०७९ असोज ५ गते कार्यादेश दिइएको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो ।