सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आईतवार मधेश प्रदेश जाने भएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतवार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो । प्रधानमन्त्री ओली आज जनकपुरधाम स्थित निधी भवनमा डिजिटल प्रविधिबाट एकैपटक मधेशको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक/एक सडक गरि ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन् । कुल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुबर्षिय खरिद गुरुयोजनाहरु स्वीकृत भई डिपिआर समेत सकेर शिलान्यास गर्न लागिएको हो । साढे ५ मिटर चौडाई भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताईएको छ । मन्त्रालयले बिश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ । प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन् । प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्वदलिय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले बताएका छन् ।