सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आजदेखि मानवता विरुद्धको अपराधको मुद्दामा पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्धको आरोपको सुनुवाइ गर्ने निर्णय गरेको छ । यो सुनुवाइ देशको इतिहासमा पहिलो पटक राज्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ । गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विशाल विरोध प्रदर्शनपछि सत्ताबाट हटाइएकी हसिनाले धेरै मुद्दाहरूको सामना गरिरहेकी छिन्, जसको सुनुवाइ अहिलेसम्म क्यामेराबाट टाढा राखिएको छ । न्यायाधिकरणको यो निर्णयले यो परम्परा तोड्ने छ । फेब्रुअरी १८ मा, तीन सदस्यीय न्यायाधिकरणले हसिना विरुद्धको अनुसन्धान अप्रिलसम्ममा पूरा गर्न आदेश दिएको थियो । राज्य समाचार एजेन्सी बीएसएसका अनुसार, अभियोजन पक्षले जुलाई-अगस्ट २०२४ मा भएको जनविद्रोहको क्रममा मानवताविरुद्धको अपराधको आरोप आज न्यायाधिकरणमा पेश गर्नेछ । विद्यार्थीहरुको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि हसिनाको अवामी लिग सरकार अगस्ट ५, २०२४ मा अपदस्थ गरिएको थियो ।न्यायाधिकरणले हसिनाविरुद्ध पहिले नै पक्राउ वारेन्ट जारी गरिसकेको छ, जबकि अन्तरिम सरकारले उनको सुपुर्दगीको लागि भारतलाई कूटनीतिक नोट समेत पठाएको छ । जुलाई-अगस्ट २०२४ को हिंसामा सयौं मानिसहरूको मृत्यु भएपछि हसिना सरकारका अधिकांश वरिष्ठ नेताहरूलाई पक्राउ गरिएको थियो । संयुक्त राष्ट्रसंघको एक रिपोर्ट अनुसार, गत वर्ष जुलाई १५ देखि अगस्ट १५ सम्म लगभग १४ सय मानिसहरू मारिएका थिए ।