पानी पार्ने ‘देउता’ रातो मच्छिन्द्रनाथका कुरा 

हजुरआमा, ‘अरुलाई पढ्न लगाएर सुन्नुस् है !’ 

आइतबार, जेठ १८, २०८२
Global Ime Bank
मयुर प्लाई

श्री रातो मच्छिन्द्रनाथको बारेमा बाल्यकालदेखि सुनेको दुईवटा प्रसंगबाट यो आलेख सुरु गर्न गइरहेको छु । हजुरआमाले भन्नुहुन्थ्यो, ‘आज मच्छिन्द्रनाथको रथ तान्ने दिन, पानी पर्छ ।’ हजुरआमालाई उत्सुक हुँदै पानी पर्ने आधारहरूबारे थप पुष्टि गराउन खोज्दा उहाँ भन्नु हुन्थ्यो, ‘तिमीहरू केटाकेटीले भनेर हुन्छ र, शत छ, पानी दर्केर नै नपरे पनि छिट्याउँछ, लौ हेरिराख ।’ अनि, उहाँ मच्छिन्द्रनाथको भोटो देखाउने दिन पनि पानी पर्ने सन्दर्भ हामीलाई उत्सुक हुँदै सुनाउनु हुन्थ्यो । यो हो पहिलो प्रसंग ।  दोस्रो प्रसंगको चर्चा गरौं अब, विशेष गरी वर्षको एक पटक बुङमतीस्थित रातो मच्छिन्द्रनाथको दर्शन गर्नु मेरो लागि वार्षिक नियमितताभित्र परेको तालिका जस्तै थियो । मिनपचासको बिदामा कार्यविनायक मन्दिर दर्शन गर्न गयो, त्यही मेसोमा कार्यविनायक मन्दिरको पारिपट्टी  रहेको रातो मच्छिन्द्रनाथको दर्शन गर्‍यो । बुङमतीमा दही चिउरा खाजा खायो, भैँसीपाटीको मामाघर पस्यो, त्यसपछि ढुङ्गाअड्डा घर फर्कियो । समाचार लेख्ने क्रममा रातो मच्छिन्द्रनाथको बारेमा बुझेको सतही प्रसंग बाहेक, यी दुई प्रसंगले मात्रै मेरो मानसपटलमा प्रभाव छोडेको थियो, रातो मच्छिन्द्रनाथको बारेमा । गएको माघ महिनाको तेस्रो साता गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘मच्छिन्द्रनाथ र नेपाल भारत सम्बन्ध’ विषयक दुई दिने संंगोष्ठीपछि सहकालका देवता, करुणामय रातो मच्छिन्द्रनाथबारे मेरो बुझाई प्रष्ट र व्यापक भएको छ । त्यतिमात्रै होइन, नेपाल र भारतको कुटनीतिक सम्बन्ध भन्दा पनि पुरानो रहेको थाहा भयो, पाटन र आसामको सम्बन्ध । एक हजार ५ सय वर्षअघि पानीको हाहाकार खेपेर उजाड बनेको काठमाडौं उपत्यकालाई आसामले हराभरा बनाइदिएको थियो । पानीको प्यासले व्याकुल भएका उपत्यकाबासीको तिर्खा आसामले मेटाइदिएको इतिहासका पानाहरूमा भेटिन्छ । त्यतिबेला उपत्यकामा खडेरीका कारण उब्जनी हुन छाड्यो । जसले गर्दा खाद्य संकट लगायत अन्य थुप्रै समस्यासँग प्रतिकार गर्न बाध्य भए उपत्यकाबासी ।  किंवदन्ती अनुसार काठमाडौं उपत्यकामा अनिकाल लाग्नुको कारण थियो, योगी गोरखनाथले यहाँका नागहरूमाथि आसन कसेर ध्यान बस्नु । उनै गोरखनाथका गुरु हुन् मत्स्येन्द्रनाथ । राजालाई उनका शुभचिन्तकहरूले फरक फरक किसिमका सुझाव र सल्लाह दिए । त्यो सुझाव मध्येको एक थियो, मच्छिन्द्रनाथलाई नेपाल ल्याउनु । जनताप्रति उत्तरदायी राजा नरेन्द्रदेवले आसामको कामरुप कामाक्षाबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याउने निर्णय गरे, र,  संघर्षपूर्ण तवरबाट मच्छिन्द्रनाथलाई पाटन ल्याए । मच्छिन्द्रनाथ भमराको रुपमा पाटन आएको किम्बदन्ती छ । नभन्दै गुरुलाई देख्नासाथ ध्यानमा बसेका गोरखनाथ जब जरुक्क उठे, तब उनले आसन जमाएका नागहरू मुक्त भई वर्षा गराइदिए । बन्जर बनेको काठमाडौं उपत्यकाको भूमिलाई उर्वर बनाइदिएको खुशियालीमा स्थानीयले मच्छिन्द्रनाथलाई शहरभरि रथयात्रा गराउन थाले ।  यो उत्सव त्यो बेलादेखि हालसम्म निरन्तर छ । यो आलेख तयार हुँदै गर्दा लगनखेलबाट मच्छिन्द्रनाथको रथलाई लाखौँ श्रद्धालु भक्तजनले तानेर जावलाखेल पुर्‍याएका छन् । 

WhatsApp-Image-2025-05-28-at-16.57.37-1748744105.jpegएक हजार ५ सय बर्ष अघि राजा नरेन्द्रदेव आसाम पुगेका थिए । गएको माघ महिनामा जननिर्वाचित प्रतिनिधि ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन फरक प्रसंगमा सहभागी हुन आसाम पुगे । रातो मच्छिन्द्रनाथ र पाटनको सम्बन्धलाई पुनर्ताजगी बनाउन आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख रथ तान्नेदेखि, रथ बनाउने विज्ञसम्मको प्रतिनिधिमण्डल लिएर गए । त्यहाँ उनीहरूले मच्छिन्द्रनाथको बारेमा  छलफल गरे । कार्यक्रममा सहभागी हुन आसाम पुगेका ती विज्ञले आफ्नो विज्ञतालाई कुटनीतिक सम्बन्ध, सांस्कृतिक सम्बन्धसँग जोडेर हेरे । राजा नरेन्द्र खडेरीको पीडाबाट आफ्ना नागरिकलाई मुक्ति दिलाउन मच्छिन्द्रनाथ लिन आसाम पुगे भने, नगर प्रमुख महर्जन नगरबासीको प्राणदायक बनेको रातो मच्छिन्द्रनाथको इतिहास बुझ्न संस्कृतिका कारण मौलाएको सम्बन्धलाई अझै बलियो बनाउन त्यहाँ पुगे ।  
कार्यक्रममा अन्य विशिष्ठले नीति निर्माताले आफ्नो धारणा र दृष्टिकोण राखे । काम गर्दाको अप्ठ्यारो सुनाए । मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग गरिने वेतलाई नेपाल लैजाने प्रक्रिया सजिलो बनाउन महानगरका प्रमुख चिरीबाबुले अनुरोध गरे, ‘किलाकाँटा प्रयोग नगरी वेतबाट मात्रै रथ बनाइन्छ , वेत लैजाने प्रक्रिया सजिलो होस् ।’ सबैभन्दा महत्वपूर्ण विषय त के हो भने, आसाम र ललितपुरको सम्बन्धलाई अझै बलियो बनाउन उनीहरूले छलफल गरे । नगर प्रमुखले वेतको बारेमा त्यसो भनिरहँदा, रथ बनाउने बेला पुल्चोकमा देखिने वेत आँखा वरिपरि आए । त्यतिबेले दर्शक दीर्घामा बसिरहेकी मैले नारायण गोपालको यो गीत सम्झेँ, ‘फाँटहरुले कसलाई पुग्छ, भीरमा पनि फुलिदिन्छु , खुशी मात्र कहाँ हुन्छ , पीरमा पनि फुलिदिन्छु ।’ धेरै कष्ट र उल्झन झेलेर वेत नेपाल आइपुग्दो रहेछ । मन त्यसै त्यसै गह्रौं भयो । साँच्चै, नेपाललाई विश्वमा चिनाउने रथ निर्माण गर्न नभई नहुने वेत नेपाल लैजान किन झन्झट । किन अप्ठ्यारो । 
छलफलमा  जे जस्ता प्रसंग उठे पनि मच्छिन्द्रनाथले आसाम र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाएको पुष्टि गरेको छ । कला, संस्कृतिले समाजलाई जीवन्त र सजीव त बनाउँछ नै गतिशील समेत बनाउँछ ।  त्यसको ज्वलन्त उदाहरण हो रातो मच्छिन्द्रनाथको जात्रा । सांस्कृतिक सम्बन्धले दुई देशबीचको कुटनीतिक सम्बन्ध समेत मजबुत भएको छ । 
आसाम र ललितपुरबीचको सम्बन्धलाई सुमधुर र बलियो बनाउने रातो मच्छिन्द्रनाथको विविध पक्षबारे के पर्याप्त छलफल भएको छ ? प्रयास भएका छन्, तर, पर्याप्त छैनन् । मच्छिन्द्रनाथको सन्दर्भमा नेपाल र भारतका तर्फबाट ७ वटा कार्यपत्र प्रस्तुत भएका थिए । ती कार्यपत्रको निचोड सम्झँदा पनि थप अध्ययन र अनुसन्धानको खाँचो टड्कारो रुपमा देखिन्छ । यो संगोष्ठीले मच्छिन्द्रनाथको बारेमा अनुसन्धान केन्द्र स्थापना गरेर थप अध्ययन गनुपर्ने औंल्याएको छ । आसाम भ्रमणपछि रातो मच्छिन्द्रनाथप्रतिको बुझाईलाई छर्लङ पारेको मेरो दृष्टिकोणले भन्छ, ‘यो पर्याप्त छैन, थप अध्ययन र अनुसन्धान आवश्यक छ ।’ हजुरआमा तपार्ईं अहिले हुनु भएको भए, म तपाईंलाई आसाम र पाटनको सम्बन्ध, रातो मच्छिन्द्रनाथको बारेमा बेलिविस्तार सुनाउँथेँ । हो मलाई त थाहा छ, ‘तपाईं सग्ला अक्षर चिन्न सम्म सक्नु हुन्थ्यो । आफैं पढ्न सक्नु हुन्थेन । त्यतिखेरको समाजले तपाईंलाई छोरी मान्छे भएका कारण न्याय गर्न सकेन । त्यसैले, तपाई जहाँ हुनुहुन्छ, त्यहाँका अक्षर चिन्नेलाई पढ्न लगाएर पानी पार्ने ‘देउता’ रातो मच्छिन्द्रनाथबारे नातिनीको लेखोट सुन्नुस् है ।’  

rato-machhindra-nath-1748743628.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
आजको राशिफल
आइतबार, जेठ १८, २०८२

आजको राशिफल
आइतबार, जेठ १८, २०८२

आजको राशिफल
आइतबार, जेठ १८, २०८२

आजको राशिफल
आइतबार, जेठ १८, २०८२