सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं वडाले वडाका विशिष्ट व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । वडा कार्यालयले आज शनिबार विश्राम बाटिकामा भब्य कार्यक्रमको आयोजना गरी विशिष्ट व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो । सम्मान तथा पुरस्कार पाउनेहरूमा गाविसका पूर्वअध्यक्ष/पूर्व वडाअध्यक्ष, पिएचडी उपाधि हासिल गरेका वडावासी, इन्जिनियर, चिकित्सक, खेलाडी, विमान चालक, समाजसेवी, सफल व्यवसायी/कृषि उद्यमी, लामो समय शिक्षण पेशामा रही निवृत्त भएका प्रधानाध्यपक, संस्कृति/कलाका क्षेत्रमा योगदान पुर्याएका कलाकार, पूर्वविशिट कर्मचारी, सेना प्रहरीको विशिष्ट पदमा कार्यरत पदाधिकारी, वहालवाला कर्मचारी, ज्येष्ठ नागरिक, वडा भित्रका सरकारी/निजी क्षेत्रका कार्यालयका प्रमुख, वडा भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय, सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थी, टोल विकास समिति, उत्कृष्ठ महिला समूह रहेका छन् । विसनदेवी गाउँ पञ्चायत हुँदाका बखतदेखि नेतृत्वमा रहेका पूर्वपधाधिकारी तथा २०६२/०६३ सालको आन्दोलनपछि भएको राज्य पुनर्संरचनापछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ बाट निर्वाचित वडाअध्यक्षसमेतलाई वडाले सम्मान गरेको हो । सम्मानितमध्ये खेलाडी तथा विद्यार्थीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सम्मानित तथा पुरस्कृत व्यक्तिहरू प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रमका विशेष अतिथि महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सम्मानित व्यक्तिहरूलाई दोसल्ला ओढाउनु भएको थियो । कार्यक्रमका सभापति एवम् ललितपुर महानगर २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेले वडाले विशिष्ठ व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्नुको औचित्यका बारेमा प्रकाश पार्दै वडाले पहिलो पटक ऐतिहासिक कामको थालनी गरेको बताउनुभयो । वडाकी सामाजिक परिचालक सरला बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य उद्धब बस्नेतले कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, सम्मानित व्यक्तित्व तथा सहभागीहरूलाई स्वागत गर्नु भएको थियो भने वडासदस्य इन्द्रा श्रीस रानाले पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिनु भएको थियो । कार्यक्रममा वडास्तरीय महिला समितिले वडा भित्र रहेका १७ वटा महिला समूहको प्रतिनिधित्व गर्दै वडाअध्यक्ष पाण्डेलाई सम्मान प्रदान गरेको छ । कार्यक्रममा वडासदस्य हरिकृुष्ण मजर्हन, निशा मालबुल, वडा सचिव, वडा सल्लाहकार, कार्यपालिका सदस्य, महिला समूहका पदाधिकारी, महिला स्वास्थ्य स्वयम् सेविका, समाजसेवी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख चिरीबाबु महर्जनले धापाखेलका विकास निर्माणमा महानगरले सक्दो प्रयास गरिरहेको बताउँदै प्राकृतिक दह नागदहको संरक्षणका लागि पनि महानगरले योजना बनाइरहेको बताउनुभयो । कार्यक्रमका विशेष अतिथि महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगर अहिले बजेट निर्माणको चरणमा रहेको जनाउँदै वडालाई प्राथमिकताका आधारमा योजनाहरू छनोट गरी पेश गर्न आह्वान गर्नुभयो । सम्मानित व्यक्तित्व मध्येबाट पूर्वप्रधानाध्यपक तथा नेपाली काँग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरेले महानगरको यो वडाका निर्वाचित प्रतिनिधिहरूले सबै वडावासीलाई समेटेर विकास निर्माणसहितका क्षेत्रमा अघि बढिरहेको बताउनुभयो ।