सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका हुने भएकोले देशभरी करीव १ लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागेको छ । समुदायस्तरमा विपद् सम्बन्धि सूचना प्राप्तीमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रुपमा कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागेको छ । यसका लागि सबै बाहिनी मुख्यालयले जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै वडाहरुमा २५ जनाको दरले विपद् सूचक समुह निर्माण गर्नुपर्ने हुन्छ । जस अनुसार देशभरीका ६ हजार ७ सय ४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार गरिनेछ ।यसबाट विपद् सम्बन्धि सूचना तत्काल प्राप्त हुने र सोही अनुसार आफ्ना सुरक्षाकर्र्मी परिचालन र उद्वारमा सहजता हुने विश्वास मुख्यालयको छ । विपद् सुचक समुह तयार भएपछि उनीहरुलाई विपद् सचेतनामूकल प्रशिक्षण प्रदान गर्ने विपद् सिमुलेशन अभ्यासमा सहभागि गराउने योजना समेत सशस्त्र प्रहरी बलको छ । यसैबीच सशस्त्र प्रहरी बलले समुदायमा विपद् उद्वारक पनि तयार गर्दै छ । गत जेठ ७ गते सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित गोताखोर तालिम समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसैवर्ष सातवटै प्रदेशमा करीव १ हजार समुदाय विपद् उद्वारक तयार गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । जसअनुसार मुख्यालयले यसको तयारी स्वरुप मातहत कार्यालयमा विपद् उद्वारक स्वयंसेवक तालिम पनि शुरुवात गरेको छ । समुदाय विपद् स्वयंसेवक उत्पादनका लागि १८ दिनको तालिम दिईनेछ । त्यसमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले तालिम प्रदान गर्नेछन् । प्रदेशस्थित सशस्त्र प्रहरी बलका मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी तत्काल १८ वटा तालिम संचालन गर्नेछन् भने अन्य १ सय ४७ वटा तालिम आर्थिक वर्ष २०८२ र ०८३ मा संचालन गरिनेछ । यस प्रकारका तालिमले समुदायस्तरमा विपद्बाट बच्न पूर्व तयारीका साथै विपद्का समयमा उद्वार तथा राहतको कार्यमा सहजता समेत हुनेछ ।सशस्त्र प्रहरी बल नेपाल नं। २३ मनकामना गण तनहुँबाट समुदाय विपद् स्वयंसेवक तालिम शुरुवात भएको छ । स्थानीय सरकार तथा सरोकारवाला निकायहरु सँगको समन्वयमा गणले ५८ जनाको लागि तालिम संचालन गरेको हो ।तालिमको क्रममा स्थानीय पालिकामा रहेका र अपुग भएमा सशस्त्र प्रहरी बलको सम्बन्धित कार्यालयमा रहेका विपद् उद्वारका सामाग्री प्रयोग गरिनेछ । तालिमका लागि दक्ष प्रशिक्षकको व्यवस्था प्रशिक्षण प्रतिष्ठान तथा बाहिनी मुख्यालयहरुले गर्नेछन् भने प्राकृतीक विपद् जोखिम रहेका पालिकाहरुमा यसप्रकारको तालिम दोहोर्याएर समेत गरिने सशस्त्र प्रहरी बलको योजना छ ।