स्वदेशमै केही हुन्छ भन्ने आशा पलाएको छ : प्रधानमन्त्री

बुधबार, जेठ १४, २०८२

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका छन् । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको बताए । उनले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरुले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाए ।' अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । कुरा काट्नेहरु त गल्ली गल्लीमा भेटिन्छन् । काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन', प्रधानमन्त्री ओलीले भने, 'तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरुले यो काम अघि बढाए । त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे । अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुट्न दिनुहुँदैन । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ ।' प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गरे ।नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार