मकवानपुरमा बसको ठक्करबाट ३ जनाको मृत्यु, ३ जना घाइते

मंगलबार, जेठ १३, २०८२

हेटौंडा । मकवानपुरमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मकवानपुर थाहा नगरपालिका–३ विद्युत प्राधिकरण स्थित त्रिभुवन राजपथ सडकखण्डमा सोमबार अपराह्न बज्रबाराहीको गोपाली गाँउबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिँडिरहेका ६ जनालाई ठक्कर दिएको थियो । तीमध्ये तीनजनाको मृत्यु भएको हो । बसको ठक्करबाट स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी गर्ने कृष्ण बलामी र झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । घाइतेमध्ये ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ भने यादवको ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो । उक्त घटनामा बाराको जितपुर सिमरा घर भएका अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र बाराको कोल्वी घर भइ झम्केस्वरी माविमै पढाउने शिक्षक अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन् । घाइते दुवैको पालुङमा उपचार भइरहेको छ र कमलेश कुमार साहको काठमाडांै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बसले थाहानगरका उपप्रमुख भरत गोपालीको घरमा समेत क्षति पुगेको छ । बस पैदलयात्रीलाई ठक्कर दिएर घरको पर्खालमा ठोक्किन पुगेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार