राष्ट्रिय युवा संघको मतदान सुरु, थेबे र पुरी प्यानलसहित भिड्दै

मंगलबार, जेठ १३, २०८२

पोखरा । राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १०औँ महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ । सर्वसम्मत कार्यसमिति चयन गर्ने प्रयास असफल भएपछि आज मतदान हुन लागेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै अध्यक्ष दोहोर्‍याउन चाहेको भएपनि वर्तमान महासचिव सुमन पुरीले दाबी नछोडेपछि मतदान भएको छ । वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी दुवै जना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन । थेबेले आफ्नो नेतृत्वमा उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दर्ता गराएका छन् भने महासचिवमा महेश चौलागाईँ, उपमहासचिवमा उपेन्द्र शाही रहेका छन । त्यस्तै थेबे प्यानलबाट खुला सचिवमा मदन भण्डारी र देबु बस्नेत र महिला सचिवमा निशा लिम्बु र मधेसी सचिवमा मोबिन आलमको उम्मेदवारी दिएका छन ।त्यस्तै वर्तमान महासचिव समेत रहेका पुरीले आफ्नो प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मालाई उम्मेद्वार बनाएका छन् । त्यसैगरी सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेसीतर्फ चितरञ्जन यादव उम्मेदवार बनेका छन् ।खुल्ला सचिवालय सदस्यमा पाँच महिलासहित १६ सदस्य रहने व्यवस्था छ । त्यस्तै कोशी प्रदेशमा १४ खुल्ला सदस्य र ७ महिला गरी २१ सदस्य, मधेशमा ८ जिल्ला समेट्ने गरी ८ खुल्ला र ५ महिला गरी १३ सदस्य, बाग्मती प्रदेशमा १३ जिल्ला समेट्न १३ खुल्ला र ७ महिला गरी २० सदस्य, गण्डकीमा ११ जिल्लालाई समेट्न ११ खुल्ला र ६महिला गरी १७ सदस्य, लुम्बिनीमा १२ जिल्ला समेट्ने गरी १२ खुल्ला र ६ महिला गरी १८ सदस्य रहने व्यवस्था छ । त्यस्तै कर्णाली प्रदेशको १० जिल्ला समेट्न १० खुल्ला र ५ महिला गरी १५ तथा सुदूर पश्चिम ९ जिल्ला समेट्ने ९ खुल्ला र ५ महिला गरी १४ सदस्य रहने छन् । अन्तर जिल्ला विशेष प्रदेशमा ५ खुल्ला र ३ महिला गरी ८ सदस्य रहने व्यवस्था छ ।अधिवेशनमा झन्डै १८ सय ३८ सदस्य मतदानमा सहभागिता जनाउने छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार