प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी लिँदैनौँ : कांग्रेस

सोमबार, जेठ १२, २०८२

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले बाेलेका सबै कुराको जिम्मेवारी आफ्नो पार्टीले नलिने बताएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री एमालेका नेता पनि भएकाले उनले बोलेका सबै कुराको जिम्मेवारी लिन नसकिने बताएका हुन्। पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्रीजी एमाले पार्टीको नेता पनि हुनुहुन्छ । सबै उहाँले भनेका कुराहरूको जिम्मेवारी हामीले लिने कुरा भएन।’ प्रवक्ता महतले कांग्रेस ‘कब्जा’ गर्ने पक्षमा नरहेको प्रस्ट्याउँदै संविधानले शान्तिपूर्ण विरोध गर्ने अधिकार दिएको बताए। यद्यपि, संविधानकै विरुद्धमा जाने कुरा भने स्वीकार्य नहुने बताए। आइतबार पार्टीबाट निर्वाचित वडाध्यक्षहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा ओलीले जेठ १५ गते काठमाडौंलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए। ‘हामी समग्रमा यो संविधानको प्रतिरक्षाको पक्षमा छौँ। र, यो संविधानले दिएको जुन अधिकार छ, त्यो अधिकार प्रयोग गरेर विरोध गर्न पनि पाइन्छ, आफ्ना कुराहरू राख्न पनि पाइन्छ। तर, त्यो शान्तिपूर्ण तरिकाबाट राख्नुपर्छ । तर, संविधानकै खिलाफमा जान्छौँ भन्ने कुरोचाहिँ ठिक होइन भन्ने कुरामा हामी विश्वस्त छौँ,’ उनले भने।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार