आन्दोलनमा जव गुन्जियो ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’ 

शनिबार, जेठ १०, २०८२
Global Ime Bank

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणको ६ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा प्रदर्शन गरिएको छ । न्यायको माग राख्दै काठमाडौंमा भएको प्रदर्शनपछि भएको सभामा चर्चित सांरगीवादक एवम गायक हेमन्त कान्छ रसाइलीको प्रस्तुतिले माहोल भावुक बनायो । सांरगीसहित सभामा उपस्थित भएका हेमन्तले ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’ भन्ने बोलको गीत प्रस्तुत गर्दा सहभागीहरूको आँखा रसाएका थिए ।  १० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरूसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो । उक्त घटनामा जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसला जन्मकैदको न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सजाय सदर गरेको थियो । त्यसविरुद्ध दलित अभियान्ताहरू निरन्तर आवाज उठाइरहेका छन् । ‘दलितका लागि दलित’ अभियानको नेतृत्व गरिरहेका खगेन्द्र सुनारले उक्त घटनालाई न्यायलयले पनि अन्याय गरेको बताउने गरेका छन् ।  उक्त सामुहिक हत्याकाण्ड उपर उच्च अदालत, सुर्खेतको फैसला (जातिय विभेद हैन) को विरोधमा लामो समयदेखि माइतीघरमा धर्ना र आन्दोलनका कार्यक्रमहरू भइरहेका छन् ।


 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार