पहिरोले शुक्लागण्डकीका सात घर जोखिममा

आइतबार, असार २०, २०७८

दमौली । केही दिनदेखि परेको वर्षासँगै आएको पहिरोले शुक्लागण्डकी नगरपालिका–८ मिलीजुली टोलमा एकघर क्षति भएको छ भने अन्य सात घर जोखिममा परेका छन् । पहिरोले उक्त टोलका चित्रमाया बानियाँको घर पहिरोले पुरिएर पूर्ण क्षति भएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार बानियाँको परिवारलाई आफन्तको घरमा स्थानान्तरण गरिएको छ । सोही ठाउँका इमबहादुर बानियाँ, टुकबहादुर श्रेष्ठ, शिवकुमारी श्रेष्ठ, शान्ति थापा, दिलबहादुर खत्री र कविता भट्टराईको घर जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने उनले बताए । 
पहिरोले उक्त वडाका डहरे, मालेबगर, चनौटे, लालिम लगायतका अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढीपहिरोले १२ वटा बाँध र कुलो पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने खानेपानीका पाइप पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । 
यसैगरी भानु नगरपालिका–१० याङसिङमा पहिरोले एक घर पुरिएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण उक्त ठाउँका प्रेमबहादुर भुजेलको घर पुरिएको हो । 
घरमाथिबाट आएको पहिरोले घर र गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोबाट घरमा रहेका लत्ताकपडा, अन्नपात सबै नष्ट भएको छ भने गोठमा रहेको एकहल गोरु र गाई पुरिएको छ । पहिरोबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । 

बाढीपहिरोले विद्युत् खम्बा क्षति 
केही दिनदेखि परेको निरन्तर वर्षाका कारण विद्युत पोलमा क्षति पुग्दा जिल्लाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको छ । लगातारको वर्षाले पोल क्षति हुँदा जिल्लाका करिब आठ हजार घरधुरीमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ । 
हालसम्म व्यास र भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिए । 
उनका अनुसार २८  विजुलीको पोल पहिरोले क्षति पुगेको छ । व्यास –१० बोटेगाउँमा एक, व्यास–१२ देउराली, छिर्कने र जौबारीमा आठ, व्यास–१३ छाब्दीमा चार, भानु –१ साझबोटेमा पाँच, भानु –३ तुरतुरेमा तीन पोलमा क्षति पुगेको छ । त्यस्तै भानु –६ बरभञ्ज्याङमा दुई, बन्दीपुर–२ भैसेखारमा चार, भानु–१३ पोखरीछापमा एक पोलमा क्षति पुगेको छ । “पहिरोले क्षति भएको पोलहरुको मर्मत कार्य भइरहेको छ,” उनले भने, “पूर्ण रुपमा सञ्चालन हुन अझै तीन÷चार दिन लाग्नेछ ।”
विद्युत पोलमा क्षति पुगेर विद्युत अवरुद्ध हुँदा दैनिक जीवनमा प्रत्यक्ष असर परेको बन्दीपुरका स्थानीयवासी बसन्त पौडेलले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले विद्युत अवरुद्ध हुँदा गाउँपालिकाको काम समेत प्रभावित भएको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  ०६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार