परराष्ट्रमन्त्री डा. राणा जापान प्रस्थान 

मंगलबार, जेठ ६, २०८२
Global Ime Bank

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन् । जापानको टोकियोमा भोलिदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी सोमबारराति त्यसतर्फ प्रस्थान गरेकी हुन् । मन्त्री डा.राणा ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तता सम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।  एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरुको सहभागिता रहने छ । ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका संघसंस्थामार्फत् नेपाली महिलाहरुको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी मन्त्री डा.राणालाई सो कार्यक्रमको विशेष वक्ताका रुपमा आमन्त्रित गरिएको हो ।  जापानमा रहँदा उनले महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम मन्त्री राणको सचिवालयले जानकारी दिएको छ । उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरुको शिष्टाचार भेट  
यसअघि परराष्ट्रमन्त्री डा. राणासँग नेपालका लागि युरोपियन युनियन आबद्ध देशका काठमाडौंस्थित राजदूत एवं नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले शिष्टाचार भेट गरेका छन् । हिजो सोमबार मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र युरोपियन युनियन एवं युनियनका सदस्य राष्ट्रहरुको सम्बन्धका विविध विषयहरुका साथै आपसी हित र साझा चासोका विषयमा कुराकानी भएको थियो ।  त्यस अवसरमा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा युरोपियन युनियन र यसमा आबद्ध राष्ट्रहरुले पुर्‍र्याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी छन् । साथै उनले नेपाल सरकारले हिजोमात्र सम्पन्न गरेको सगरमाथा संवादमा युरोपियन युनियनका सदस्य राष्ट्रहरुका तर्फबाट भएको सहभागिताका लागि पनि धन्यवाद ज्ञापन गरिन् ।  मन्त्री डा.राणाले पछिल्लो समयमा नेपाल जलवायु परिवर्तनको असरबाट अकल्पनीय रुपमा पीडित भइरहेको र नेपालले अन्तर्राष्ट्रिय रुपमा जलवायु न्याय माग गरिरहेकाले नेपालको यस अभियानमा साथ र सहयोगका लागि युरोपियन युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेकी छन् । 

WhatsApp-Image-2025-05-19-at-16.14.22-1747714998.jpeg
मन्त्री डा.राणाले सो शिष्टाचार भेटका क्रममा युरोपियन युनियनका सदस्य राष्ट्रहरुसँग नेपालमा पर्यटन, कृषि, पूर्वाधार निर्माण, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि आफ्ना देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्नका लागि पनि आग्रह गरेकी छन् । नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुन लागेकामा नेपाललाई त्यसपछिको आवश्यक सहयोगका लागि पनि मन्त्री डा राणाले युरोपियन युनियन आबद्ध राजदूतहरुमार्फत् युरोपियन युनियनका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेकी छन् । उक्त शिष्टाचार भेटमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियन र आबद्ध सदस्य राष्ट्रका २० जना मिसन प्रमुख एवं राजदूत सहभागी थिए ।

WhatsApp-Image-2025-05-19-at-16.14.22-1747714998.jpeg
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार