सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले कोरोनाविरुद्धका खोप खरिदका लागि संघीय सरकारसँग समन्वय गर्ने जनाएको छ । सामाजिक विकास मन्त्री कुमार खड्काले जिल्ला समन्वय समिति कास्कीद्धारा आज आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण कार्यक्रममा सरकारले एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन् । जनताको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने र सङ्घ र स्थानीय सरकारका बीच प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्दे आएको उनको भनाई छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले अभिमुखीकरण कार्यक्रमले विकास निर्माणका कामको अनुगमनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्राध्यापक डा.भरतराज पहारीले गुणस्तरीय स्थानीय पूर्वाधार र अर्थपूर्ण अनुगमन विषयमा सहजीकरण गर्दै मुठीभर मानिसको हितका लागि मात्र गरिने कामलाई विकास मान्न नसकिने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विकास र सुशासन विषयमा कार्यपत्र प्रस्तुत गर्दै गुणस्तरीय एवम् दीगो विकास अहिलेको मुख्य आवश्यकता भएकोमा जोड र्दिए । सुशासन तथा कानून विज्ञ वीरेन्द्र पराजुलीले कार्यपालिका सदस्यको काम कर्तव्य र अधिकारबारे जानकारी गराउँदै स्थानीय सरकार सञ्चालन ऐनका आधारमा जनप्रतिनिधिहरुले काम गरेमा सहज हुने विश्वास व्यक्त गरे । समाजशास्त्रका प्राध्यापक अञ्चला चौधरीले समाजशास्त्रीय दृष्टिकोणमा विकासको अवधारणाबारे चर्चा गर्दै विकास समय सान्दर्भिक हुनुपर्ने धारणा राखिन् । कास्कीलगायत छिमेकी जिल्लाका कार्यपालिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा समन्वय उपप्रमुख सावित्रा भण्डारी, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले प्रभावकारी अनुगमन र गुणस्तरीय विकास निर्माणको आवश्यकता माथि जोड दिएका थिए ।-रासस