सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो पार्टी (नेपाली कांग्रेस) लाई भन्दा पनि राष्ट्रलाई राम्रो बनाउने कुरा पहिलो भएको बताएका छन् । पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आयोजित विद्यमान आर्थिक परिवेशमा बजेटले समेटनुपर्ने नीति बिषयक सम्वाद गोष्ठीमा धारणा राख्दै सभापति देउवाले देशको अर्थतन्त्रको क्षेत्रमा उदाहणीकरणको राजनीतिमा कांग्रेसको जीत भएको बताए । उनले दलगत स्वार्थभन्दा पनि बढि राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 'भारतमा उदाहरणीकरणको नीति नहुँदा नेपालले सुरुवात गरेको हो, सरकारले व्यापार, उद्योग गर्ने हैन, हामी मात्रै हैनौं, प्रचण्ड र ओलीजी नै उदाहणीकरणको नीतिमा हुनुहुन्छ, सरकारले नागरिकको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने हो,सबै पार्टीहरु उदाहरीकरणमा आएका छन्, बेलायतमा अहिले पनि शिक्षा राज्यको नै दायित्व छ, शिक्षामा प्राइभेटले राम्रो त गरेको छ, तर सरकारीले काम गर्नै सकेको अवस्था छैन दुबैलाई अगाडि बढाइरहेका छौँ ।', सभापति देउवाले भने । उनले ले जलवायु परिवर्तनको विश्वव्यापी समस्याले हिमालहरु पग्लिएर कालापत्थरमा परिणत हुने अवस्था रहेको भन्दै वनजंगल बचाउन ध्यान दिनुपर्नेमा पनि जोड दिएका छन् । 'ग्लोबल वार्मिङको समस्याले धेरै असहज बनाएको छ, यसमा ध्यान दिनुपर्छ, शिक्षा, स्वास्थ्य हवाई यातायातका क्षेत्रमा नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, समावेशी विकास र भेदभावको अन्त्य नेपाली कांग्रेसले नै गरेको हो', उनले भने । देउवाले राज्यको आवश्यकता अनुसार प्रतिफल दिने आयोजनामा मात्रै लगानी गर्नुपर्ने भन्दै विदेशी अनुदान घट्दै गएको परिप्रेक्ष्यमा देशभित्रै लगानीमैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिए । 'आइटी क्षेत्रको विकासमा जोड दिनुपर्छ, युवावर्गलाई जोड दिनुपर्छ', उनले भने । उनले कुनै पनि दलको बहुमत नभएको समानुपातिक समावेशी वर्तमान व्यवस्थामा गठबन्धन गर्नुपर्ने जरुरी रहेको बताए । गभर्नर नियुक्तिको बिषयमा भइरहेको ढिलाईका बारेमा धारणा राख्दै सभापति देउवाले राजनीतिक कारण भन्दा पनि राष्ट्र बैकभित्रैको समस्याले ढिलाइ भएको बताए । 'गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन,ओलीजी पनि सकरात्मक नै हुनुहुन्छ,,राष्ट्र बैकभित्रकै समस्या हो', उनले भने । उनले निजी क्षेत्रमा लगानी सहज बनाउन संसदबाट पाँचवटा विद्येयक पारित भएको छ भन्दै लगानी गर्न सहज बनाउने गरि बजेट आउने विस्वास दिलाए ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री महेश आचार्यले राज्य नियन्त्रित अर्थव्यवस्था हुनुहुँदैन भन्दै कांग्रेसले खुला र प्रतिस्पर्धाी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए। सार्वजनिक संस्थानमा सरकारबाट प्रवाह हुने लगानी अनुसार प्रतिफल हासिल हुन नसक्दा नकारात्मक असर परिरहेको भन्दै यसलाई ध्यान दिंदै निजीकरण तर्फ जोड दिनुपर्ने बताए। उनले राष्ट्र बैकलाई नियन्त्रणकारी भन्दा पनि सहजीकरण गर्ने संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले कृषि क्षेत्रको रोजगारीमा गुणात्मक परिवर्तन नगरेसम्म सुधार हुन नसक्ने भन्दै स्रोतको सही परिचालन हुनुपर्नेमा जोड दिए। नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् आर्थिक नीति तथा योजना विभागका प्रमुख प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले विद्यमान आर्थिक परिवेशमा बजेटले समेटनुपर्ने नीतिका बारेमा जानकारी गराउँदै अर्थतन्त्रका मुख्य समस्या र समाधानका लागि अवलम्बन गर्नुपर्ने कार्यहरुका बारेमा जानकारी गराएका थिए । नेपाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक स्थिरता आउन नसकेको बताए । उनले खुला बजार अर्थतन्त्रलाई प्रोत्साहन गर्दै आन्तरिक उत्पादनलाई निर्यात गर्न जोड दिनुपर्नेमा जोड दिए। उनले अर्थतन्त्रलाई चलायमान बनाउने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरि बजेट आउनुपर्ने धारणा राखे । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डेले आगामी बजेटमा कर प्रणालीको सुधार गर्नुपर्ने, कर संकलन एउटै प्रणालीबाट हुनुपर्ने, दोहोरो करको व्यवस्थालाई हटाइनुपर्नेमा जोड दिनु आवश्यक रहेको बताए । उनले राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन, प्रकृतिक सम्पदाहरुको राम्रोसँग उपयोग गर्न ध्यान दिनेगरी बजेट आउनुपर्ने बताए। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका प्राध्यापक डाक्टर सञ्जय आचार्यले गैरकृषि क्षेत्रको आर्थिक बृद्धिदर कम भएको, सम्भावना भएको क्षेत्रमा लगानी प्रवाह नभएकोले नेपालले यसमा सुधार गर्नुपर्नेमा जोड दिए। उनले संघीय सरकारको राजश्व परिचालनले नियमित खर्च मात्रै धान्ने अवस्था रहेकोले विकास र पूर्वाधार खर्चका लागि ऋण र अनुदानमा भर पर्नुपर्ने अवस्थाले लगानी प्रतिफलमुखी हुन नसकेको बताए । उनले बजेटमा करको दरभन्दा पनि दायरा बढाउनुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डाक्टर पोषराज पाण्डेले बजेटमा मुलुकको आवश्यकता र मूल्यमान्यतालाई जोड दिनुपर्ने बताए ।