सोसल मिडिया
Contact Us
युनिकोड
जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिन इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको छ । लकडाउन देशव्यापी हुने छ । आइतबार साँझ ५ बजेदेखि लकडाउन सुरु हुने अधिकारीहरूले जनाएका छन् । प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयद्वारा जारी संयुक्त वक्तव्यमा अहिले दुई साताका लागि तय गरिएको लकडाउन आवश्यकता अनुसार लम्ब्याउन सकिने उल्लेख छ । इजरायलमा दैनिक चार हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल नझर्दासम्म लकडाउन नहटाउने बताइएको छ । लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान नपाइने व्यवस्था गरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि प्रतिवन्ध लगाइने छ । सवै व्यवसायीक तथा व्यापारिक कार्यालयहरू बन्द गरिने भएपनि अत्यावश्यक सेवाका कार्यालय भने सूचारु गर्न दिइने अधिकारीले जनाएका छन् । काम गर्नेहरूलाई घरबाटै काम गर्न आग्रह गरिने र सार्वजनिक स्थलमा भिडभाड गर्न पाइने छैन । सार्वजनिक सवारी साधनहरूमा आधा मात्रै यात्रु राख्न पाइने व्यवस्था गर्न लागिएको अधिकारीहरूले जनाएका छन् । लकडाउनका बेलामा पूर्व प्राथमिक कक्षा, कक्षा एक देखि ४ सम्म र कक्षा ११ र १२ का पढाई मात्रै सञ्चालन गर्न दिइने छ । –सिन्ह्वा