नेतृत्वदायी भूमिका खेल्न देउवालाई नौ नेताको आग्रह

बिहीबार, वैशाख १८, २०८२
मयुर प्लाई

कांग्रेसका नौजना नेताले सबै प्रजातन्त्रवादी र राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर राष्ट्रिय सहमतिको राजनीतिक समझदारी निर्माणका लागि भूमिका खेल्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ । देश असफल राष्ट्रतिर अग्रसर हुन लागेकोतर्फ चिन्ता जनाउँदै पूर्वमहामन्त्री कुलबहादुर गुरुङसहितका नेताले बुधबार सभापति शेरबहादुर देउवा र केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराएका हुन् ।  उनीहरूले विगतमा भएको कमजोरीबाट शिक्षा लिएर भूलसुधार गर्दै कोर्स करेक्सन गर्नुपर्नेतर्फ सुझाव राख्दै पूर्वराजावादीहरूको मागलाई पनि स्पेस दिनुपर्नेतर्फ संकेत गरेका छन् । ‘नेपाली कांग्रेसले आफ्ना स्थापनाकालीन सिद्धान्त, बिपी कोइरालाको विचार, आदर्श र उहाँले राख्नुभएको राष्ट्रिय एकता र मेलमिलाप नीतिको अधीनमा रहेर सर्वोच्च नेता गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, त्यागी नेता सुवर्णशमशेर, बौद्धिक नेता सूर्यप्रसाद उपाध्याय आदि आफ्ना महान् संस्थापक नेताहरूलाई स्मरण गर्दै १२ बुँदे समझदारी, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा लिएको राजनीतिक अडानउपर गहिरो आत्मसमीक्षा गर्दै विगतमा भएका भुल र कमजोरीबाट सिकेर राजनीतिक कोर्स करेक्सन गर्ने वेला भएको छ भन्ने हाम्रो ठहर छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ । समयको गति र देशको जटिल राजनीतिक अवस्थामाथि गम्भीरतापूर्वक ध्यान दिँदै निषेधको राजनीति परित्याग गर्दै सबै प्रजातान्त्रिक एवं देशभक्त राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर राजनीतिक निकास दिन नेतृत्वदायी भूमिका खेल्न आवश्यक परे महासमिति बैठक बोलाएर निर्णय लिनसमेत आग्रह गरेका छन् । ध्यानाकर्षणपत्रमा गुरुङसहित पूर्वमन्त्री तथा वरिष्ठ नेताहरू ओमकारप्रसाद श्रेष्ठ, विपिन कोइराला, लक्ष्मणप्रसाद घिमिरे, विनयध्वज चन्द, दीपकुमार उपाध्याय, रामचन्द्र अधिकारी, सुरेन्द्र हमाल, लोकेश ढकालको हस्ताक्षर छ । भूराजनीतिक जटिलतालगायतले संकट मडारिएकाले राष्ट्रिय हितलाई सर्वोपरि राखेर सबै एक ठाउँमा उभिएर ताजा समझदारीसहित अगाडि बढ्नुपर्ने वेला आएको उनीहरूको जिकिर छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार