श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध : मुख्यमन्त्री कार्की 

बिहीबार, वैशाख १८, २०८२
मयुर प्लाई

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।  आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे दिवस २०८२ को अवसरमा शुभकामना  सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले मे दिवसलाई श्रमजीवी मजदुरहरूको योगदानलाई सम्झने विशेष अवसरको रूपमा उल्लेख गरे ।  सन्देशमा भनिएको छ,‘नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको ऐतिहासिक योगदानले आजको उपलब्धिहरू सम्भव भएका हुन् । संविधान २०७२ ले श्रमिकको अधिकार सुनिश्चित गरेको छ, अब ती अधिकारको व्यवहारिक कार्यान्वयनमा सरकार जिम्मेवार छ ।’ मुख्यमन्त्री कार्कीले आजैको दिन प्रदेश सरकारद्वारा ‘कोशी लगानी सम्मेलन’को शुभारम्भ गरिएको जानकारी दिदै त्यसमार्फत रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण निर्माणमा नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरे ।   ‘श्रमजीवी वर्ग र श्रमप्रति हेर्ने नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्दै श्रमको सम्मान गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो। सूचना प्रविधिको युगसँगै श्रमिकलाई नयाँ सीप र अवसरसँग जोड्नुपर्छ,’ सन्देशमा उल्लेख छ। मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजीको विकास, उद्यमशीलता प्रवद्र्धन, श्रमिकको सेवा–सुविधा विस्तार तथा जीवनस्तर उकास्ने दिशामा कोशी प्रदेश सरकार अग्रसर रहेको पनि बताए ।  उनले सबैलाई श्रमको सम्मान र श्रमिकप्रतिको कदर गर्ने चेतना फैलाउन आह्वान गर्दै राष्ट्र निर्माणमा श्रमिक वर्गको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार