सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतमा कोरोनाभाइरस खोपको परीक्षण र उत्पादन अन्तिम चरणमा प्रवेश गरेको छ । अबको एक महिनामा त्यहाँ कोभिड खोपको प्रयोग सुरु हुनसक्ने भारतीय स्वास्थ्यमन्त्रीले बताएका छन् । त्यसैले नेपालले पनि आफ्नो प्रारम्भिक आवश्यकता भारतबाटै पूर्ति गराउने पहल भइरहेको दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले बताएका छन् । नेपालले खोप हासिल गर्ने पहलका क्रममा दिल्लीस्थित दूतावासले त्यहाँका खोप निर्माता तथा सरकारी अधिकारीहरूसँग थालेको संवाद आशलाग्दो रहेको राजदूत आचार्यले बताएका छन् । पश्चिमी देशहरूमा कोरोनाभाइरस विरुद्ध बनेका खोपहरूको प्रयोग हुन थालिसकेका बेला नेपालमा त्यसको आपूर्ति कहिले र कताबाट होला भन्ने जिज्ञासा बढिरहेको छ । यसै साता भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटका वरिष्ठ अधिकारी तथा भारतको नीति आयोगका प्रमुखसँग राजदूत नीलाम्बर आचार्यले कुराकानी गरेका थिए । यूकेको अक्सफोर्ड यूनिभर्सिटीले एस्ट्राजेनेका औषधि कम्पनीसँग मिलेर विकास गरेको खोप सेरम इन्स्टिच्युटले बनाउँदैछ । उक्त खोपको प्रभावकारिता ७० देखि ९० प्रतिशत हुने बताइएको छ । ‘सेरम इन्स्टिच्यूटको क्षमता निकै ठूलो छ । नेपालको आवश्यकता पनि उसले सम्बोधन गर्न सक्छ’, राजदूत आचार्यले भने । उनका अनुसार भारतले आफ्नो आवश्यकताको निम्ति उत्पादन गर्ने जति खोप हुन्छ त्यसमा नेपालको आवश्यकता पनि थपे उत्पादन गर्ने कम्पनीलाई भन्न नेपाल पनि लाभान्वित हुनसक्छ । ‘यही सन्दर्भमा सेरम इन्स्टिच्यूटसँग हाम्रो वार्ता भइरहेको छ । (सेरमका अतिरिक्त निर्देशक प्रकाश सिंह) सोमवार दूतावासमा आउनुभएको थियो । उहाँसँगको वार्ता आशादायी रह्या’, उनले भने ।
भारतबाट कति परिमाणका खोप आउला ? अघिल्लो महिना नेपाल भ्रमणमा आएका बेला भारतीय विदेशसचिव हर्षवर्धन शृंगलाले नेपालको खोप आवश्यकता भारतको प्राथमिकतामा रहने बताएका थिए । बिहीवार राजदूत आचार्यले भारतको नीति आयोगका प्रमुख कार्यकारी अमिताभ कान्तसँग कोभिडविरुद्धको खोपको उत्पादन तथा उपलब्धताबारे कुराकानी गरेका थिए । कान्तले पनि भारतको खोप सहयोगमा नेपाल प्राथमिकतामा पर्ने बताएको दूतावासले उल्लेख गरेको छ । राजदूत आचार्यका अनुसार नेपालले सुरुमा आफ्नो जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी खोप आपूर्ति गर्न खोजिरहेको छ जसमा अग्रमोर्चामा रहेर काम गर्ने तीन प्रतिशतलाई पहिलो चरणमा अनि जोखिम समूहमा रहेकाहरू १७ प्रतिशतलाई दोस्रो चरणमा खोप दिन खोजिएको छ । ‘यो भनेको करिब ६० लाख मानिस वा एक करोड २० लाख मात्राको खोप हुन आउँछ । हामीले के आशा गरेका छौँ भने हाम्रो सुरुका यी आवश्यकता भारतबाटै सम्बोधन हुनसक्छ’ उनले भने । ‘तुरुन्तै सबै एकैचोटि आउने त होइन तर उत्पादन सुरु भएपछि त्यो परिमाण प्रष्ट हुँदै जान्छ’, उनले भने ।
भारतको खोप किन धेरै उपयोगी होला ? नेपालको निम्ति विभिन्न कारणहरूले गर्दा भारत वा छरछिमेकमा बनेका खोपहरू नै लाभदायक हुनसक्ने विज्ञहरूले बताउने गरेका छन् । विशेषतः भारतमा बनेका खोप सस्तो पर्ने अनि आपूर्ति सजिलो हुने उनीहरू बताउँछन् । ‘वास्तवमा कोभिड खोपका निम्ति नेपालले पर जानैपर्दैन । अक्सफोर्ड यूनिभर्सिटी (एस्ट्रजेनेकाको खोप भारतकै सेरम इन्स्टिच्युटमा बन्दैछ । त्यसको मूल्य पनि दुई डोजको १,५०० रुपैयाँ हाराहारीमा आउँछ’, सेन्टर फर मलेक्यूलर डायनामिक्सका अनुसन्धान निर्देशक डा. समीरमणि दीक्षितले बताए । पैसा सस्तो हुनुका साथै उक्त खोपलाई सामान्य चिसो तापक्रममा सुरक्षित भण्डारण गर्न सकिनु पनि महत्वपूर्ण फाइदा भएको उनले बताए । ‘यो खोपलाई हामीसँग अहिले नै उपलब्ध सामान्य कोल्ड चेनमा पनि भण्डारण गर्न सकिन्छ’, उनले भने । दीक्षितले नेपालको निम्ति भारतसहित चीनमा उत्पादन हुने खोपहरू पनि लाभदायी हुनसक्ने बताए ।
भारतमा कुन खोप अन्तिम चरणमा छन् ? अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले विकास गरेको खोपलाई भारतको पुनेस्थित विश्वकै अग्रणी खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गर्दैछ । कोभिशील्ड नाम दिइएको यो खोपको अन्तिम चरणका परीक्षणहरू भइरहेका छन् । यसले भारतीय सरकारसँग ‘आपत्कालीन प्रयोग’ का लागि अनुमति मागेको छ । भारतको हैदराबादस्थित कम्पनी भारत बायोटेकले इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)को सहयोगमा बनाइरहेको कोभ्याक्सीन नामक अर्को खोपको पनि तेस्रो चरणका क्लिनिकल परीक्षण जारी छ । यसले पनि भारतीय सरकारसँग आपत्कालीन प्रयोगको अनुमति मागेको छ । साथै क्याडिला हेल्थकेअरले बनाइरहेको जाइकोभ–डी नामक खोपको पनि तेस्रो चरणमा परीक्षण भइरहेको छ । रुसी खोप स्पुत्निक–फाइभको परीक्षण भारतमा पनि भइरहेको छ । तीबाहेक अन्य केही खोपको परीक्षण जारी नै छ । –बीबीसीको रिपोर्ट