सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दै गएका बेला सरकारले यूकेबाट नेपाल आउनमा प्रतिबन्ध लगाएको छ । तर विज्ञहरूले नेपालमा कोरोना भाइरस महामारी मच्चिइरहेकै बेला परीक्षण कम गरेकोप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् । उनीहरुले कोरोना भाइरसले खेल्ने ठाउँ धेरै पाए नेपालमै पनि कोरोना भाइरसको नयाँ प्रकार उत्पत्ति हुनसक्ने भन्दै सरकारी अधिकारीलाई सचेत गराएका छन् । नेपाल र यूकेबीच सिधा हवाई सेवा नभए पनि विभिन्न देश हुँदै यूकेबाट मानिसहरू आउने गरेका छन् । सोमबार नै नागरिक उड्ययन प्राधिकरणले सबै वायुसेवालाई बुधवार राति ११ः५९ पछि यूकेबाट वा यूके हुँदै नेपाल आइपुग्ने यात्रुहरूलाई नल्याउन निर्देशन दिएको छ । जसका कारण यूकेमा देखिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने आशंकाहरू व्यक्त भइरहेका छन् । यसै सन्दर्भमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समिति बैठकले यूकेबाट नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको संयोजक महेन्द्र गुरागाँइले बताए । उनी भन्छन ‘यूकेबाट आउन अहिले रोक लगाउने निर्णय भएको छ । ट्रान्जिटमा आइसकेका र उडान शुरू गरिसकेकाहरूका लागि होटलमा क्वारन्टीन राखेर स्वास्थ्यले परीक्षण गरेर पठाउने तर उडान बाँकी रहेकाहरूलाई भने रोक्ने निर्णय भएको छ ।’ यस्तो निर्णयको जानकारी सबैलाई पठाइसकिएको छ । युके हुँदै कुनै पनि यात्री अव अर्काे निर्णय नभएसम्म नेपाल आउन पाउने छैनन् । कोरोना भाइरको नयाँ प्रकारलाई नेपाल भित्रिन नदिन सरकारले गरेको यो निर्णयलाई जनस्वास्थ्यविद्हरूले सकारात्मक भनि टिप्पणी गरेका छन् । केही जनस्वास्थ्यविद्ले नेपालमै पनि कोरोना भाइरसले रूप फेर्न सक्ने जोखिम रहेको भन्दै परीक्षण, सङ्क्रमितको सम्पर्कमा आएकाहरूको खोजी र आइसोलेशनलाई बढाउनु पर्ने धारणा राखेका छन् । पछिल्ला दिनमा परीक्षण घट्नुले पनि सङ्क्रमणले अर्काे रूप लिने हो कि भन्ने चिन्ता जनस्वास्थ्यविद्मा पाइन्छ । नेपाल भित्रै पनि उक्त भाइरसले अर्काे रूप लिने जोखिम कायम भएको औंल्याउँदे सङ्क्रामक रोग विज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘अहिलेकै कोरोना भाइरस पटक्कै नियन्त्रण भएको छैन जस्तो देखिन्छ । त्यस्तो अवस्था रह्यो भने नयाँ प्रकार आएको पनि हामीले पत्ता लगाउन सक्दैनौँ । भाइरसले प्रशस्त खेल्ने ठाउँ पायो भने चाहिँ नयाँ नयाँ प्रकार उत्पन्न हुन्छ ।’ ‘त्यसैले सङ्क्रमितको संख्या कम हुन सक्यो भने मात्रै हामी नयाँ प्रकार आउने सम्भावनाबाट जोगिन सक्छौँ’, उनले भने ‘महामारी नियन्त्रणका सामान्य उपायहरू परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेशन र क्वारन्टीनका काम तीव्र बनाउनुपर्छ । उच्चतम राजनीतिक निकायले यसलाई आफ्नो समस्याक रूपमा लिनुपर्छ र संख्या कम भएको नक्कली तथ्यांकका पछि लाग्न हुँदैन ।’