कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

आइतबार, कात्तिक १८, २०८१
Global Ime Bank

पोखरा । लामो समयको प्रतीक्षापछि अन्ततः हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबिचको २४ नं सीमास्तम्भ क्षेत्र कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याएको छ । लामो समयदेखि चासो र चर्चामा रहेको उक्त नाका गत बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । कार्यालय उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुरक्षा निकायका नेतृत्वसहित कोरला पुगेका थिए । सोही दिन मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेरस्थित नेचुङमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) भवन पनि उद्घाटन गरियो । सरकारले सय दिन समयावधिमा नै कार्यालयको उद्घाटन गर्ने तयारी गरेको थियो । मन्त्री लेखकले वर्तमान सरकार गठन भएको १०८ दिनमा कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गर्न सकिएको बताए ।  मन्त्री लेखकले यस नाकाबाट यसअघि दुई देशका नागरिक मात्र प्रवेश पत्रका आधारमा आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य हुँदै यस नाकाबाट चीन र चीनबाट नेपाल आवतजावत गर्नका लागि भिसा सेवा प्रारम्भ भएको बताए ।  कोरला नाका मुस्ताङका लागि मात्रै नभई गण्डकी प्रदेशकै ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै मन्त्री लेखकले यस नाकालाई नेपालकै महत्त्वपूर्ण नाकाका रूपमा विकास गरिने बताए ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नाकाको सुव्यवस्थित सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । नाकालाई नै लक्षित गरी पोखरा हुँदै म्याग्दी भएर आउने सडक खण्डको स्तरोन्नति तथा विकासका कुरालाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ । नाका गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे । कोरला नाका सञ्चालनमा ल्याउनुपर्ने विषय उठिरहेको अवस्थामा गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा अध्यागमन कार्यालय सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कोरलामा ६ कोठे ‘एसवाई प्यानल’ को भवन निर्माण गरिएको हो । नेपालतर्फ पूर्वाधार निर्माण कार्य अघि नबढे पनि चीनले भने आफ्नोतर्फ पूर्वाधार निर्माणका धेरै काम सम्पन्न गरिसकेको छ । चीनले कोरला नाकामा आफ्नोतर्फबाट धेरै अत्याधुनिक किसिमका संरचना निर्माण गरिसकेको छ । 
कोरला नाकामा अध्यागमन कार्यालय देख्दा सामान्य भए पनि यहाँबाट सबै किसिमका सुविधा प्राप्त हुने जनाइएको छ ।  गृहमन्त्री लेखकले लोमान्थाङ गाउँपालिका वडा नं–१ छोसेरस्थित नेचुङमा नवनिर्मित २ तलाको ५५ कोठे वातावरणमैत्री प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) भवन पनि उद्घाटन गरे। सीमा सुरक्षाका साथै सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि, सम्भावित अपराध तथा चोरी सिकारी र स्थानीय नागरिकको सुरक्षार्थ खट्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ उक्त भवन निर्माण गरिएको हो । अध्यागमन कार्यालय सञ्चालनसँगै यहाँका स्थानीयवासी भने उत्साहित भएका छन्। अध्यागमन कार्यालय शुभारम्भ हुनुले जिल्लावासीमा उत्साह थपेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली बताउँछन् । कार्यालय सञ्चालनसँगै यसको प्रभावकारी व्यवस्थापन हुने मुस्ताङवासीको विश्वास रहेको उनको भनाइ छ।
मुस्ताङको लोमान्थाङ, बारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म पास लिएर व्यापार गर्नका लागि नियमित रूपमा आवतजावत गर्दै आएका छन् । हाल पास लिएका व्यक्ति बिहान ९ बजे चीनतर्फ छिरेपछि दिउँसो ३ बजे मात्र फर्कनुपर्छ । नाका क्षेत्रको समग्र भौतिक पूर्वाधार विकासका लागि भन्सार, अध्यागमनलगायत सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टको भौतिक पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा सरकारका नाममा लालपुर्जा बनिसकेको छ । नाकामा पूर्वाधार निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि एक करोड रुपैयाँ विनियोजन भई दुई वर्षअघि नै काम अघि बढाइएको थियो। उक्त स्थानमा भौगर्भिक परीक्षण तथा माटो परीक्षणलगायत कार्य भैसकेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार