यूकेसँगको यात्रा प्रतिबन्ध हटाउन ईयूद्वारा सदस्य राष्ट्रहरूलाई आग्रह

बुधबार, पुस ८, २०७७

लण्डन । युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन सिफारिस गरेको छ । ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको एउटा बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको हो । सदस्य राष्ट्रहरूले त्यो मान्नैपर्ने बाध्यता चाहिँ छैन । सीमा नियन्त्रणसम्बन्धी आ–आफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन् । यसअघि सप्ताहान्ततिर फ्रान्सले यूकेसँग जोडिएका सिमाना बन्द गर्दा दुई देशबीच सामान ओसारपसार गर्ने हजारौँ लरीहरू अलपत्र परे ।

ईयूका सदस्य राष्ट्रबीच साझा नीतिको अभाव
लगभग ईयूका सबै २७ सदस्य राष्ट्रले यूकेबाट हुने यात्रामा अहिले प्रतिबन्ध लगाएका छन् । साझा नीति अवलम्बन गर्ने प्रयासमा ईयूको आकस्मिक बैठकहरू बस्दै आएका छन् । कोभिड–१९ को परीक्षण गराउने वा फर्केर एकान्तवासमा जाने प्रतिबद्धता जनाउने नागरिकलाई आ–आफ्नो देश फर्कन दिन ईयूका सदस्य राष्ट्रलाई युरोपेली आयोगले एउटा वक्तव्यमार्फत् सिफारिस गरेको छ । यद्यपि अत्यावश्यक नपरेको अवस्थामा गरिने यात्राहरूलाई निरुत्साहित गर्नुपर्नेमा उसले जोड दिएको छ । 
ईयूभित्र यातायात क्षेत्रमा काम गर्ने लरी चालकजस्ता मानिसको हकमा यात्रा प्रतिबन्ध र अनिवार्य परीक्षणको व्यवस्था गर्न नहुने आयोगको भनाइ छ । यूकेबाट फ्रान्स र ईयूका अरू सदस्य राष्ट्र जानका लागि चाहिँ कोरोनाभाइरस परीक्षण गराएको हुनुपर्ने उसको भनाइ छ ।

फ्रान्स र यूकेबीच कस्तो स्थिति छ ?
फ्रान्स र यूकेबीच भएको पछिल्लो सहमतिअनुसार दुई देशबीच कार्गाे र केही यात्रु सेवा पुनः सञ्चालनमा आउने भएका छन् ।
लरी चालक तथा ईयूका नागरिकले यात्रा गर्न पाउनेछन् । तर उनीहरूले कोरोनाभाइरस परीक्षण गराएको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ ।
हवाई, डुङ्गा तथा युरोस्टार रेलसेवा बुधवारदेखि पुनः सञ्चालनमा आउनेछन् ।

अरू ककसले यात्रा प्रतिबन्ध लगाए ? 
यूकेबाट गरिने यात्राको हकमा युरोपभित्र मात्रै प्रतिबन्ध सामना गर्नुपरेको छैन । विश्वका ५० भन्दा बढी मुलुकले यात्रामाथि प्रतिबन्ध लगाएका छन् । संयुक्त राज्य अमेरिकाले यूके र केही अरू देशमा पछिल्लो १४ दिनदेखि बस्दै आएका गैरअमेरिकी नागरिकमाथि प्रवेशमा रोक लगाएको छ ।
साउदी अरब, कुवेत र ओमानले अन्तर्राष्ट्रिय यात्राका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरिदिएका छन् ।
डेनमार्कका साथै अस्ट्रेलिया, इटली र द नेदरल्यान्ड्समा पनि कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ ।–बीबीसी

 

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ०९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार