सोसल मिडिया
Contact Us
युनिकोड
डोटी । पहिराेमा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरामा च्यापिएर मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन् । गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको खिरणा खोलाको पहिरामा च्यापिएर मृत्यु भएको स्थानीय खगेन्द्र बडैलाले जानकारी दिए । उनका अनुसार पानी मुहान सफा गर्न गएका अन्य दुई केआइसिंह गाउँपालिका झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन् । पुनीको हात भाँचिएको छ भने पूजाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि दिपायल ल्याउने तयारी भइरहेको बताइएको छ ।
बेलाघाटमा फसेका चारको उद्धार
अविरल वर्षाका कारण दाङको राप्ती नदीमा आएको बाढीले मङ्गलबारदेखि बेलाघाटमा फसेका चारजनालाई आज सुरक्षाकर्मीले उद्धार गरेका छन् । लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेलाघाटको बीचको टापुमा फसेका चारजनालाई आज बिहान सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । भैँसी चराउन गएका राजपुर गाउँपालिका–२ का ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका–३ का २६ वर्षीय गणेश यादव र लमही–७ का ४८ वर्षीय मनराम चौधरीको उद्धार गरिएको पनि प्रजिअ पौडेलले जानकारी दिए । जिल्ला आपत्कालीन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले टापुमा फसेका उनीहरूलाई उद्धारका लागि गए राति नै रबर बोटसहित सुरक्षाकर्मी परिचालन गरिए पनि नदीमा पानीको बहाव नघटेपछि उद्धारमा कठिनाइ भएको बताए । पन्ध्र वटा भैँसी लिएर चढाउन गएका उनीहरू रातभरि सोही टापुमा बसेका थिए । भैँसी भने उतै रहेको बताइएको छ । सशस्त्र प्रहरी २९ नं गण भालुवाङ्का सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल, ४१ नं गण अर्जुन खोलाका प्रमुख यादव विश्वकर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका–७ का वडाध्यक्ष मोहन गिरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय अमिलियाक प्रहरी निरीक्षक राजीव श्रेष्ठ, रणसिङ दल गुल्म अर्जुन खोलाको टोली राप्ती नदी पुगेको थियो ।