परराष्ट्रमन्त्री डा.राणासँग दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीद्धारा द्विपक्षीय भेटवार्ता  

बुधबार, असोज ९, २०८१
Global Ime Bank

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विभिन्न देशका विदेशमन्त्री लगायतसँगको द्विपक्षीय भेटवार्तालाई जारी राखेकी छन् ।  यसैक्रममा मङ्गलबार उनले दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरिन् ।  मङ्गलबार उनले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग गर्नुभएको द्विपक्षीेय भेटवार्तामा दुई देश मित्रता, पारस्पारिक सम्मान र समझ्दारीमा आधारित सम्बन्धका साथ अघि बढेका र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा कुराकानी भएको थियो । त्यस भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भयो ।  त्यसैगरी उनीहरुबीच यस बर्ष दुवै देशले मनाइरहेको नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 
परराष्ट्रमन्त्री डा राणाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण बर्षका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत् कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरेकी छन् ।  भेटका क्रममा पछिल्लो समय इपिएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरुलाई समेत दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्री डा राणाले नेपाल सरकारका तर्फबाट धन्यवाद दिएकी छन् ।  साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिक लगायतका क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि मन्त्री डा.राणाले सराहना गरेकी छन् ।  मन्त्री डा.राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गरेकी छन् । नेपालमा प्रत्यक्ष लगानी गर्ने विदेशी राष्ट्रमध्ये दक्षिण कोरिया एक प्रमुख राष्ट्र हो । अघिल्लो आर्थिक बर्षमा मात्र नेपालमा दक्षिण कोरियाको करिब १२ अर्ब रुपैयाँ लगानी आएको थियो । 
त्यस भेटका अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद, सुरक्षा परिषदलगायतमा उम्मेदवारी दिएकाले कोरियाको सहयोगका लागि आग्रह गरेकी थिइन् । 
त्यसैगरी मन्त्री डा राणाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी छन् । सो भेटका क्रममा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा कुराकानी भएको थियो ।   साथै सो भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद, सुरक्षा परिषदलगायतमा उम्मेदवारी दिएकाले फिलिपिन्सको सहयोगका लागि आग्रह गरेकी छन् । 

Fili-1727238228.jpeg
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार