दैलेख सदरमुकाममा दुल्लुमा सहुलियतको चामल लिन घुइँचो

शुक्रबार, जेठ २८, २०७८

दुल्लु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले २०  प्रतिशत सहुलियतमा जेठ २४ गतेदेखि चामल बिक्री गर्न थालेको छ । सदरमुकामस्थित कार्यालयमा सहुलियतको चामल लिनेको सङ्ख्या बढेको छ । यसग्अघि चाडपर्वका बेला मात्र छुट दिदै आएको खाद्यले सरकारले निषेधाज्ञा अवधिभर चामलमा २० प्रतिशत छुट दिएपछि  चामल लिनेको घुइँचो लाग्ने गरेको हो ।   खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई  ठुलो राहत मिलेको छ ।   सस्तो दरमा चामल पाउँदा निकै राहत मिलेको रने बादीले बताउनुभयो । “दिनभरी मजदुरी गरेर पेट पाल्थ्यौ, अहिले लकडाउनले सबै काम बन्द भयो, बजारको चामल किनेर खान धौ धौ परेको बेला सस्तो चामल पाउँदा निकै राहत भएको छ”, बादीले खुसी व्यक्त गरे ।  बादी समुदायलाई मात्र होइन मजदुरी गर्ने, गरिब, असहाय र विपन्न परिवारलाई निकै राहत मिलेको छ ।  सहुलियतको चामल लिन दैलेख सदरमुकाम नारायण नगरपालिका, नौमुले गाँउपालिका, भगवतीमाई गाँउपालिका, दुल्लु नगरपालिका, भैरवीगाँउपालिका,  महाबुगाँउपालिका लगायतबाट सर्वसाधारण आउन थालेका छन् ।  सहुलियत दरको चामल लिन अहिले भिड  लाग्ने गरेको कार्यालय प्रमुख रण बहादुर ऐरीले बताए ।  जेठ २४ देखि शुक्रबारसम्म दैलेखमा सय  क्विन्टल चामल बिक्री भैसकेको र बिक्रि हुने क्रम बढेको  ऐरीले जानकारी दिए । कोरोना महामारीको बेला नागरिकलाई छुटले विशेष राहत मिलेको छ ।  सोमवार, बुधबार  र बिहीबार बिहान १० बजेदेखि ३ बजे सम्मका लागि बिक्री समय तोकिएको छ । खाद्यले प्रति परिवार एक जनालाई सम्बन्धीत व्यक्तिको नागरिकताको आधारमा २५ किलो चामल दिने गरेको छ । दैनिक ५० देखि ६० जना सर्वसाधारण चामल लिन आउने गरेको उनको भनाइ छ ।-रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार