सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल आयोजना निर्माण कार्य शुरु गर्न निर्देशन दिएका छन् । उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी तथा सरसफाइ मन्त्रालय र मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि याङ्ग्री र लार्के खोलाबाट पनि खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिएका हुन् । हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी ल्याउन सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ । प्रधानमन्त्री ओलीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिएका हुन् । राजधानीबासीको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गते देखि औपचारिक रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो । प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । खानेपानी मन्त्रालयका अनुसार अब सुरुङलाई पुरै खाली गर्न करिब १० दिन, परीक्षणका लागि केही दिन र पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ ।
दुई महिना मेलम्चीको पानी नआउने
काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ । ती नदी किनारमा नजाने र जानै परेमा विशेष साबधानी अपनाएर जान भनिएको छ । सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ । सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ । वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्ने छ । आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरेको थियो । परीक्षण शुरु भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गत वैशाख ६ देखि नै उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो ।