सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । बेलायतमा कोरोना भाइरसको एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन् । नयाँ प्रकारको भाइरस झन् संक्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन् । आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन् । देश अनुसार कदमहरू केही फरक छन् । फ्रान्सेली कदमबाट युरोटनेलमार्फत् हुने रेल सेवा पनि प्रभावित भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग ‘नजिकको सम्पर्कमा’ रहेको जनाएको छ । पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ । यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ । यूकेमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात् उत्परिवर्तन नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बताएको छ । कोरोनाभाइरसको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन । तीव्र गतिमा देखिएको भाइरस फैलिने क्रमलाई रोक्ने प्रयासमा अहिले यूकेमा लन्डनसहित दक्षिण–पूर्वी इङ्ग्ल्यान्डको ठूलो हिस्सामा कडा खालका प्रतिबन्धात्मक कदम चालिएका छन् । यसै महिनाको शुरूतिर केही नमुनाहरू परीक्षण गर्दा यूकेमा जस्तै कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि डच सरकारले पछिल्लो कदम चालेको हो । नेदरल्यान्ड्समा ‘भाइरसको नयाँ प्रकार फैलिने जोखिम न्यूनीकरणका लागि सम्भव भएसम्मका प्रयास गर्नुपर्ने’मा डच सरकारले जोड दिएको छ । यूकेबाट आउने मानिसहरूबाट नयाँ प्रकारको भाइरस फैलिने जोखिमलाई थप सीमित पार्ने दिशामा युरोपेली संघका सदस्य राष्ट्रहरूसँग मिलेर आउँदा दिनहरूमा उपायहरू पहिल्याउने पनि डच सरकारले बताएको छ । नयाँ रणनीतिहरू तय गर्न सोमबार युरोपेली संघका राजदूतहरूले आपत्कालीन बैठक गर्दैछन् । विश्व स्वास्थ्य सङ्गठनकी इपिडिमियोलोजिस्ट मारिया भान केर्कोभले ‘महामारीको शुरूवातदेखि नै डब्ल्यूएचओका विशेषज्ञहरूले विश्वभरि भाइरसको आनुवंशिक परिवर्तनलाई नियाल्दै आएको’ बताइन् ।
नयाँ प्रकारबारे हामीलाई के थाहा छ ? डब्ल्यूएचओले कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको छ । भाइरसको उत्परिवर्तनसम्बन्धी जारी अध्ययनबारे यूकेलाई जानकारीहरू दिइरहेको र नयाँ भाइरसका विशेषताहरूबारे थप थाहा पाउनासाथ जानकारी गराउने डब्ल्यूएचओले भनेको छ ।यद्यपि ‘उल्लेख्य अनिश्चितता छ’, यूकेका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशतसम्म बढी सर्ने खालको रहेको बताएका छन् । इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अफिसर प्राध्यापक क्रीस ह्विटीले विकासक्रमले ‘स्थिति झन् खराब बनाउने’ बताएका छन् । यद्यपि कोरोनाभाइरसविरुद्ध खोप दिन थालिएकोले उनले आशावादी कुरा गरे ।–बीबीसी