हुलाकी सडक निर्माण कछुवा गतिमा 

चार वर्षमा २५ किलोमिटर मात्रै कालोपत्रे
बिहीबार, जेठ २०, २०७८

महेन्द्रनगर । सडक निर्माणको दोब्बर समय सकिन लाग्दा समेत कञ्चनपुरको हुलाकी सडक निर्माणको काम कछुवा गतिमा छ । यहाँको डोकेबजार देखि दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता गरिएको थियो ।
हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनियर पदमबहादुर मडैले तीस महिनाभित्र सक्नु  पर्ने काम अहिले २५ किलोमिटर मात्रै कालोपत्रे भएको जानकारी दिए । तीनवटा प्याकेजमा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्ती र कोरोना कहरका कारण समयमा सम्पन्न हुन नसकेको हो ।  ‘पटक पटक निर्माणका लागि सयम थप गर्दा पनि काम भएन’, इन्जिनियर मडैले भने, ‘अहिले पनि कोरोना अवधिमा रोकिएकाले ६ महिना म्याद थप गर्ने भनिएको छ तर माथिबाट परिपत्र आएको छैन ।’ 
कोरोनाको दोस्रो लहरमा थला परेको सडक निर्माण सरकारले निर्माणमा अवरोध नगर्ने भनेपछि पुनः शुरु हुने सुरसारमा छ ।
त्यसैगरी हुलाकी सडकको बीच खण्डमा पर्ने ( बेलौरी–बेल्डाडी) बेलौरी नगरपालिका८ पचुँइ क्षेत्रमा भने लामो समयदेखि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध गर्दै आएको छ । इञ्जिनियर मडैका अनुसार पहुँइमा भारतीय पक्षले लामो समयदेखि सडक निर्माणमा अवरोध गर्दै आएपनि त्यसको अझै समाधान खोजिएको छैन् । ‘त्यहाँ जिपिएस नक्साका माध्यमबाट सडक क्षेत्र भारतले आफ्नो दाबी गर्दै काम गर्न दिँदैन’, इञ्जिनियर मडैले भने, ‘स्थानीय प्रशासनले सो विषय दुई पक्षको संवादमा हल गर्नु आवश्यक छ ।’ 
भारतले त्यहाँ ३८ नं. सीमा स्तम्भलाई आधार मानेर विवाद गर्दै आएको स्थानीयको भनाई छ । उक्त १२ सय मिटर सडक निर्माण कम्पनीले कालोपत्रे गर्ने तयारी गरिरहदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको बताइएको छ ।
१ अर्व ९ करोड रुपैयाँ भन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न भए कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरूलाई आवागमनमा निकै सहज हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार