सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोरोनाको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेका निषेधाज्ञा अवधिलाई तीन जिल्लाले पुनः थप गरी लम्ब्याएका छन् । प्रदेश नं १ को राजधानी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज निषेधाज्ञाको समय सकिनु अगाडि पाँचांै सूचना जारी गर्दै जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।
म्याग्दीमा एक साता थपियो निषेधाज्ञा
यस्तै साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा आजदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जारी निषेधाज्ञा आज राति सकिँदैछ । निषेधाज्ञाको समयावधिभरि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । साताको आइतबार र बुधबार दुई दिन बिहान १० देखि २ बजेसम्म बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरूलाई खोल्न दिने निर्णय भएको प्रजिअ अधिकारीले बताए । यसैगरी तरकारी, खाद्यान्न, बीउबिजन, कृषि औजार, निर्माण सामग्रीका पसलहरू बिहान ५ देखि १० बजेसम्म खुल्ला रहनेछन् ।
तेस्रोपटक निषेधाज्ञा थप
यता बैतडी जिल्लामा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै निषेधाज्ञा थपिएको हो । यही जेठ १७ गतेसम्म जारी रहेको निषेधाज्ञालाई जेठ ३१ सम्म कायम रहने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश दिएका छन् । कोरोनाको दोस्रो लहर आएपछि तेस्रोपटक निषेधाज्ञाको अवधि थपिएको हो । यसअघि वैशाख २० देखि जेठ २ र जेठ ३ देखि १७ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो । कोरोना सङ्क्रमण दर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिएको जनाइएको छ । सङ्क्रमणको जोखिम अझै कायमै रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ । खाद्य पसल, तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी, निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारबाही हुने आदेशमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने बताइएको छ । साथै पूर्वस्वीकृति लिएका सवारी साधन पनि अब जिल्लामा बिहान ६ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन हुनेछन् भने जिल्ला भित्रिने सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिने भएको छ गाडीमा रहेका व्यक्तिहरूको खोड्पेमा एन्टिजेन परीक्षण गरिने र नेगेटिभ आएकालाई गन्तव्यमा पठाइनेछ भने पोजेटिभ आएकालाई आइसोलेशनमा राखिने जनाइएको छ । निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभासम्मेलन र बैठकमा रोक लगाइएको छ भने विवाह व्रतबन्ध जस्ता कार्यहरूमा थोरै मानिसको सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ । आदेशको उल्लङ्घन गरिएमा कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने बताइएको छ । जिल्लामा कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।