सुतेकै बेला आगो लगाइएकी डोटीकी महिलालाई थप उपचारका लागि काठमाडौं ल्याइयो 

वनमन्त्री आलेले दिए सहयोग रकम  
सोमबार, जेठ १७, २०७८

काठमाडौँ ।  घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर अज्ञात समूहले आगो लगाउँदा जलेर गम्भीर घाइते भएकी डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारका लागि सोमबार काठमाडौं ल्याइएको छ । सेनाको हेलिकोप्टरमा भाटलाई काठमाडौंमा ल्याइएको हो । भाटलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर उपचारका लागि सहायता रकम हस्तान्तरण गरेका छन् । उपचारका लागि मन्त्री आलेले २५ हजार रुपैयाँ सहयोग गरेको उनका प्रशासन सहायक भक्त आलेले जानकारी दिए । अज्ञात व्यक्तिले गत जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर लक्ष्मीमाथि आगो लगाएको थियो । जलेर गम्भीर घाइते भएकी उनलाई जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि आज मन्त्री आलेको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा भर्ना गरिएको हो । मन्त्री आलेले पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो । 
अहिले लक्ष्मीको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिइन् । घटनालगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।-रासस

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार