सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । लण्डनका कैयौँ पसलहरूमा झुटा ‘कोभिड–१९ प्रतिरोधी शक्तिवर्धक’ औषधी बिक्री भइरहेको छ । राजधानी लण्डनका एसियाली मूलका मानिसहरूको बसोबास भएका क्षेत्रमा कोरोनिल भनिने भारतबाट आयात गरिएको जडीबुटीले बनेको औषधी बिक्री भइरहेको छ । उत्पादक पतञ्जली आयुर्वेदले कोरोनिलले ‘श्वास प्रश्वास सम्बन्धी’ रोग लाग्नबाट बचाउने दाबी गर्छ । यो जडीबुटीको चक्की वेबसाइट र पसलहरूमा कोभिड–१९ मा सहयोगी हुने भनेर प्रचारित छ । प्रयोगशालामा परीक्षण गर्दा ती चक्कीले कोरोना भाइरसबाट नजोगाउने देखाएको छ । बर्मिङ्घम विश्वविद्यालयले गरेको परीक्षणमा उक्त चक्की बनस्पतिजन्य बस्तुहरूबाट बनेको पाइएको छ । तर त्यसले कोभिड–१९ बाट जोगाउँछ भन्ने छैन । भाइरोलोजिस्ट डा. मैत्रेयी शिवकुमारले भने, ‘रोग प्रतिरोधी शक्ति बढाउने भन्ने कुराले कोरोनाभाइरस उपचारमा कुनै अर्थ राख्दैन ।’ ‘हाम्रो रोग प्रतिरोधी शक्तिले कसरी भाइरससँग लड्छ भन्नेबारे धेरै सुक्ष्म विषयहरू छन् । प्रतिरोधी शक्ति बढाउँदा त्यसले कसरी सहयोग गर्छ हामीलाई थाहा छैन । कोरोनिलले रोग प्रतिरोधी शक्तिलाई के गर्छ भन्ने पनि स्पष्ट छैन’ डा. शिवकुमारले भने । यूकेको विज्ञापन नीतिले कोभिड–१९ का लागि रोग प्रतिरोधी भन्ने किसिमको दाबी गर्न दिँदैन । वेम्ब्लीस्थित एक पसलले कोरोनिललाई ’कोभिड–१९ विरुद्ध रोग प्रतिरोधी’ औषधी भनेर पसलमा र उसको वेबसाइटमा पनि विज्ञापन गरेको छ । त्यहाँका कम्तीमा अरू चारवटा पसलले पनि कोभिड–१९ को उपचार गर्छ भन्दै कोरोनिल बिक्री गरेको पाइएको छ । एक उपभोक्ताले भने, ‘म ७८ वर्ष पुगिसकें, त्यसैले यो औषधी खाने गरेको छु । म बाहिर सामान किन्न जाँदा जो सुकैबाट कोरोनाभाइरस सङ्क्रमित बन्न सक्छु, त्यसैले आफूलाई जोगाउन मैले यो औषधी खाने गरेको हुँ ।’
‘कोभिड सञ्चो बनाउँछ’ ’एड्भरटाइजिङ स्ट्यान्डर्डस् अथोरिटी’ (एएसए) का अनुसार यूकेमा कुनै पनि कुराले प्रतिरोधी शक्ति बढाउँछ भन्ने आधिकारिक भनाइ अहिलेसम्म आएको छैन । कोरोनाभाइरसका लक्षण रोक्न उपचार गर्ने भन्नेबारे दाबी नियामक निकाय ‘मेडिसिन्स तथा हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआए)’ ले नदिएसम्म गर्न सकिन्न । एमएचआएले कोरोनिल प्रयोगको अनुमति दिएको छैन । त्यसका एक अधिकारीले भने, ‘यूकेको बजारमा त्यस्तो अनुमति नपाएको औषधी बिक्री भएको छ भने कारबाही गरिनेछ ।’ पतञ्जली आयुर्वेदका संस्थापक बाबा रामदेवले कोरोनिलले कोभिड–१९ का बिरामी सञ्चो पारेको दाबी गरेका थिए । उनले भनेका थिए, ‘हाम्रो औषधीले तीनदिनमा ६९५ बिरामीलाई कोरोनाभाइरस नेगेटिभ बनाइदिन्छ । सात दिनमा १००५ लाई सञ्चो बनाइदिन्छ ।’ भारत सरकारले कोरोनिललाई पतञ्जली आयुर्वेदले प्रतिरोधी शक्तिवर्धकका रूपमा बिक्री गर्न सक्ने तर सञ्चो बनाउने औषधीको रूपमा गर्न नसक्ने बताएको थियो । पतञ्जली आयुर्वेदले पनि अहिले कोरोनिलले कोभिड–१९ निको पार्छ भन्ने दाबी फिर्ता लिइसकेको छ ।–बीबीसी