कोरोना सङ्क्रमितको शल्यक्रियाबाट सुत्केरी 

सोमबार, जेठ १७, २०७८

बैतडी । जिल्लामा पहिलोपटक एक कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । दशरथचन्द नगरपालिका—४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।   नौ दिनअघि कोरोना पुष्टि भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन् । एक हप्ताअघि नै सुत्केरी हुने मिति रहेकामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । शुक्रबार राति अस्पताल भर्ना भएकी ती महिला सामान्य हिसाबले बच्चा नजन्मिएपछि शल्यक्रियामार्फत सुत्केरी गराइएको हो ।  उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सङ्क्रमित महिलाको शल्यक्रिया गरिएको जोशीको भनाइ छ । ती महिलाले पहिलो सन्तानका रूपमा छोरा जन्माएको अस्पतालले जनाएको छ ।  अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।  यसैबीच कोरोना कहरबीच पनि जिल्ला अस्पतालमा प्रसुती सेवा प्रदान भइरहेको छ ।  अस्पतालमा कोरोनाका बिरामीको सङ्ख्या बढ्दै गएपछि आकस्मिक र प्रसुतिबाहेकका सबै सेवा बन्द गरिएको डाक्टर जोशीले बताउनुभयो । बैतडीमा हाल ६०० बढी कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार