राजधानी उपत्यकासहित देशैभर चिसो बढ्यो 

शनिबार, पुस ४, २०७७

काठमाडौं । केही दिनयता राजधानी काठमाडौं उपत्यकासहित देशका सबैजसो क्षेत्रमा चिसो निकै बढेको छ । मौसमविद्हरूका अनुसार पनि देशका पहाडी र तराई दुवै क्षेत्रमा अहिले चिसो बढ्दो क्रममा रहेको छ । शनिवार बिहान काठमाडौंको न्यूनतम तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम अघिल्लो दिनको भन्दा केही बढी हो । शुक्रवार काठमाडौंमा १ दशमलव ६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

तराईमा हुस्सु बढ्दो
महाशाखाका अनुसार अहिले तराई क्षेत्रमा पनि बिहान बाक्लो हुस्सु लाग्ने क्रम बढेको छ । त्यसले तापक्रम कम गर्नुका साथै भिजिबिलिटी पनि न्यून भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिवार सबैभन्दा कम भिजिबिलिटी भैरहवाको देखिएको छ । त्यहाँ ५० मिटरभन्दा कम भिजिबिलिटी रहेको थियो । देशका तापक्रम मापन केन्द्रहरू रहेका विभिन्न क्षेत्रमध्ये शनिवार जुम्लाको तापक्रम सबैभन्दा कम रेकर्ड भएको छ । त्यहाँ शनिवार बिहान माइनस ७ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।

चिसो बढ्नुका प्रमुख कारणहरू

मौसमविद्का अनुसार अहिले देशैभरी चिसो बढ्नुका विभिन्न कारणहरू छन् । उनीहरू हरेक वर्ष यो याममा यसैगरी चिसो बढ्ने गरेको बताउँछन् । महाशाखाले आगामी सोमवारदेखि पश्चिमी क्षेत्रमा थप चिसो बढ्ने पूर्वानुमान गरेको छ । आगामी चौबीस घण्टामा पनि तापक्रममा हल्का गिरावट आउने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै बिहानीपख लाग्ने हुस्सुका कारण यातायात सेवा प्रभावित हुनसक्ने उसको पूर्वानुमान छ । महाशाखाका अनुसार अहिले देशैभरि चिसो बढ्नुका प्रमुख तीन कारणहरूः

१. उत्तर–पश्चिमी वायुको प्रभाव
अहिले नेपालमा उत्तर–पश्चिम दिशाबाट आएको वायु सक्रिय छ । उक्त वायुको प्रकृति सुक्खा र चिसो हुने भएकाले त्यसले तापक्रम निकै कम गराउन भूमिका खेल्छ । यो हावा चलेका बेला त्यसलाई रोक्ने बादल पनि हुँदैन किनकी यसमा पानीका कणहरू पनि हुँदैनन् । त्यसले आकाश सफा हुन्छ । चिसो झन् बढ्छ । विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा उक्त वायुकै कारण अहिले चिसो ह्वात्तै बढेको हो । यो वायुको प्रभाव सोमवारदेखि अझै बढ्नै पूर्वानुमान छ । सोमवारदेखि केही दिनसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका क्षेत्रमा चिसो थप बढ्नसक्ने देखिएको छ ।

२. मौसमी कारण
हरेक वर्ष जाडो मौसममा दिनहरू छोटा हुने गर्छन् । छोटा दिनको अर्थ हो–सूर्योदय ढिलो हुनु र सूर्यास्त चाँडै हुनु । अहिले नेपालमा सूर्योदय ढिलो हुँदै गइरहेको छ । तर केही दिनदेखि सूर्यास्त चाँडो हुने क्रम अब कम हुँदै गएको छ । करिब एक मिनेट सूर्यास्त ढिलो भइसकेको छ । त्यसले गर्दा साँझ वा रातको समयको तापक्रम अब क्रमशः बढ्न थाल्छ । तर सूर्योदय चाँडो हुने क्रम सुरु नहुन्जेल बिहानको तापक्रम घट्ने क्रम रोकिँदैन । बिहानीपख चिसो हुने क्रम अझै केहीदिन चल्ने देखिन्छ ।

३. हुस्सु र कुहिरो
विशेषगरी तराई तथा समथर उपत्यका क्षेत्रमा बिहान हुस्सु लाग्ने गर्छ । यस्तो हुस्सुका कारण न्यूनतम भन्दा पनि अधिकतम तापक्रममा गिरावट आउँछ । एकतर्फ उत्तर–पश्चिमी चिसो र सुक्खा वायुको प्रभावले न्यूनतम तापक्रम घट्नु र अर्कोतर्फ हुस्सुका कारण अधिकतम तापक्रम घट्नुले समथर क्षेत्रमा धेरै चिसो हुन गएको हो । तराइमा एकाध दिनमै शीतलहर नै चलिहाल्ने जस्तो त देखिएको छैन । तर हुस्सु बढ्दै गएकाले त्यो लामो समयसम्म रह्यो भने शीतलहर पनि चल्नसक्छ । तराई र उपत्यकाजस्ता समथर क्षेत्रमा चिसो बढ्नुमा अन्य कारणका साथै हुस्सुको पनि प्रमुख भूमिका रहन्छ ।
 

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार