भारतमा जनवरी महिनादेखि खोप लगाउने तयारी

शुक्रबार, पुस ३, २०७७

नयादिल्ली । भारतले आउँदो जनवरी महिनादेखि नै कोभिड–१९ विरुद्धको खोप दिन सुरु गर्ने भएको छ । 
नाम उल्लेख नगर्न अनुरोध गर्दै त्यस्तो जानकारी दिएका संघीय स्वास्थ्य अधिकारीहरूले भनेका छन् ‘आउँदो केही हप्ताभित्रै’ देशको औषधि नियामक निकायले केही खोपहरूलाई आपत्कालीन प्रयोगका निम्ति अनुमति प्रदान गर्न सक्ने सम्भावना छ । 
दुईवटा खोप निर्माता कम्पनीहरूले आफूहरूले तयार पारेका कोरोनाभाइरस विरुद्धको खोपको प्रयोगका लागि सरकार समक्ष अनुमतिका निम्ति आवेदन गरिसकेका छन् । अन्य ६ प्रकारका खोपहरू चिकित्सा परीक्षणका विभिन्न चरणहरूमा छन् । भारतमा खोप कार्यक्रमले अगस्ट महिनाको आरम्भसम्म झण्डै ३० करोड जनालाई खोप लगाइसक्ने उद्देश्य राखेको छ । भारतमा झण्डै एक करोड जना कोरोनाभाइरस संक्रमित भइसकेका छन् । हालसम्म सो रोग र त्यससँग सम्बन्धित जटिलताका कारण १ लाख ४४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका सरकारी तथ्यांक छ ।
भारतका कोरोनाभाइरस संक्रमण दर सुस्त हुँदै गएको देखिए पनि सरकारले खोप योजनालाई तीब्रता दिइरहेको छ ।

विचाराधीन खोपहरू कुन कुन हुन् ?
भारतमा कोभिड–१९ विरुद्धका ६ वटा खोप परीक्षणका विभिन्न चरणमा छन् । कोभिशिल्ड नामको खोप सिरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेको हो । जसले ब्रिटिश औषधि कम्पनी एस्ट्राजेनेकासँग साझेदारी गरेको छ । कोभ्याक्शिन खोप इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च, आइसिएमआर, सँग मिलेर भारत बायोटेकले तयार पार्दैछ । यी दुवैले प्रयोग अनुमतिका लागि सरकार समक्ष आवेदन गरिसकेका छन् ।
भारतमा प्रभावकारिता र सुरक्षा सम्बन्धी परीक्षणका विभिन्न चरणमा रहेका अन्य खोपहरू यस्ता छन् ।

 

  • ज्यकोभ–डी, खोप अहमदाबाद अवस्थित जाइडस(काडिला कम्पनीले विकसित गर्दैछ
  • हैदराबादमा रहेको बायोलोजिकल इ ले पनि खोप तयार पार्दैछ। जुन एमआइटिसँग मिलेर खोप बनाउँदै गरेको पहिलो भारतीय निजी खोप कम्पनी हो ।
  • एचजीसीओ १९ भारतको पहिलो एमआरएनए खोप हो जुन पुणेस्थित जेनोभाले अमेरिकाको सिआटलमा रहो एचडिटि बायोटेक कर्पोरेशनसँग मिलेर तयार गर्दैछ
  • भारत बायोटेकले नाकबाट दिइने खोप बनाउँदैछ
  • स्पुतनिक भी खोप डा रेड्डीको प्रयोगशाला र गामालेअ नेशनल सेन्टर रूसले तयार पारेका हुन्
  • सिरम इन्स्टिट्यूट इण्डिया र अमेरिकी खोप कम्पनी नोभाभ्याक्सले तयार पार्दै गरेको दोस्रो खोप

यी आठ मध्ये चारवटा खोप भारतमा नै विकसित गरी तयार हुँदै गरेको अधिकारीहरूले बताएका छन् ।
भारतले संसारका विभिन्न खोप निर्माताहरूबाट करोडौँ मात्रामा कोरोनाभाइरस विरुद्धको खोप किन्न लागेको भन्ने समाचार विवरणहरूको पनि अधिकारीहरूले खण्डन गरेका छन् ।
भारतमा हाल रहेका खोपहरूको मात्रा पर्याप्त भएको भन्नेमा आफूहरू विश्वस्त भएको उनीहरूको भनाइ छ ।–एजेन्सी
 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  २०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार