रोजगारको खोजी गर्न ललितपुर महानगरमा छलफल 

उपयोगमा नआउने अनावश्यक तालिम सञ्चालन गर्दैनौं  : महानगर प्रमुख महर्जन 
शनिबार, जेठ १२, २०८१

ललितपुर । ललितपुर महानगरले रोजगारको खोजीमा रहेका युवालाई रोजगारको खोजी गर्न निजी क्षेत्र र सरोकारवालासँग छलफल आयोजनामा गरेको छ ।  छलफल कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले रोजगारी सिर्जना गर्न चाहनेलाई महानगरले लगानी गर्ने बताए । उनले भने, ‘आफ्नो काम गर्न चाहनेलाई विना व्याज रकम दिन्छौं भनेर नीति तथा कार्यक्रममा राख्यौं तर लिन कोही आएन ।’ उनले अबका दिनमा  उपयोगमा नआउने अनावश्यक तालिम सञ्चालन नगर्ने बताए । महानगरप्रमुख महर्जनले अवको नगरसभाबाट पारित हुने तालिम तथा सीप सिकाउने कार्यक्रमहरु प्रमाणपत्र वितरणमा मात्रै सीमित हुने दाबी गरे । ‘आज धेरै जनाले सुझाव दिनुभयो, केही दिन अघिको सार्वजनिक सुनुवाईमा पनि महानगरले सञ्चालन गर्ने तालिमको बारेमा कुरा उठ्यो, तसर्थ जनताबाट उठेको कर तथा राज्यबाट प्राप्त बजेटको खर्च गरेर प्रयोगमा नआउने, सदुपयोग नहुने खालका तालिमहरु सञ्चालन हुनेछैनन् ।’  उनले बजेट मात्रै खर्च हुने व्यवहारमा कार्यान्वयन नहुने र आयआर्जनमा काम नलाग्ने वडास्तरीय तालिमहरुलाई बजेट नराख्ने स्पष्ट पारे । रोजगार सेवा केन्द्रमार्फत महानगरबाटै सीपमूलक तालिम दिने बताउँदै उनले विद्युतीय सवारी मर्मत गर्ने सीप सिक्न चाहानेहरुका लागि तालिम दिने बताए ।उनले रोजगार सम्बन्धी जनचेतना जगाउने कार्यक्रम बताउँदै तथ्यांकको अध्यावधिक गरेर रोजगारमुलक तालिम सञ्चालन गरिने जानकारी गराए ।  उनले उद्योगी व्यवसायीहरुले दिएको सुझावको आधारमा उद्योग सञ्चालन गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार पार्न लगानी गर्ने बताए । 

WhatsApp-Image-2024-05-25-at-09.43.16-(1)-1716610094.jpeg

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पूर्वाधार तथा अन्य विकास निर्माणसंगै मानव विकास र युवालाई रोजगारी प्रदान गर्न महानगरले ध्यान दिएको बताइन् । ललितपुर हस्तकलाको नगरी भएकोले हस्तकला क्षेत्रलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिरहेको बताउँदै उपप्रमुख शाक्यले बेरोजगार युवायुवतीहरुलाई स्वरोजगार बनाउने नै महानगरको प्राथमिकता रहेको बताइन् । उनले रोजगारीको खोजीमा भएका युवाहरूको तथ्यांक तयार पारी वेभसाइटमा जोड्ने र ओैद्योगिक क्षेत्र अनुसार वर्गीकरण गरेर 
रोजगारीको वातावरण तयार गर्ने बताइन् । उनले पढ्दै सिक्दै र काम गर्दै अगाडि बढ्न चाहानेहरुका लागि पनि प्राथमिकताका साथ रोजगार दिने लक्ष्य छ भन्नुहुँदै श्रमको सम्मान नगर्ने अवस्थालाई अन्त्य गर्नु आवश्यक भएको बताइन् ।  महानगरकी प्रमुख प्रशाशकीय अधिकृत रेखा दास श्रेष्ठले रोजगारदाता र रोजगारीमा रहेकाहरुबीचको बेमेललाई परिपूर्ति गर्न महानगर प्रयत्नशील रहने बताइन् । उनले निजी क्षेत्र आर्थिक बृद्धिको इन्जिन हो भन्नुहुँदै अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्न महानगर क्रियाशील रहने बताइन् । उनले आगामी दिनहरुमा निजी क्षेत्रमैत्री नीति निर्माण गर्ने जानकारी गराउनुहुँदै यसका लागि सबै सरोकारवाला पक्षहरूले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।  कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्य, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्य, विश्व बैकका सामाजिक सुरक्षा बिशेषज्ञ ज्यासमिन राजभण्डारी, आईएलओ नेपालका राष्ट्रिय कार्यक्रम संयोजक ताराप्रसाद बखरियालगायत उद्योग बाणिज्य क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार