सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपिट तथा अस्पताल तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका तर्फबाट शुक्रबार प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न र महामारीको संकटपूर्ण अवस्थामा स्वास्थ्यजस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन पनि आयोगले ध्यानाकर्षण गराएको छ । ‘स्वास्थ्यजस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ । घटनाको आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्जले शुक्रबार स्थलगत अनुगमन गरेको छ । अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले हिजो साँझ स्वास्थ्यकर्मीहरुमाथि कुटपिट गर्नुका साथै अस्पतालको कोभिड उपचार कक्षमा तोडफोड गरेको र चिकित्सक तथा नर्सहरुमाथि आक्रमण गरेपछि चारजना स्वास्थ्यकर्मीहरु एक तलामाथिबाट हामफालेको अनुगमनको क्रममा पाइएको छ । साथै, स्वास्थ्यकर्मीहरु सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म काममा नफर्कने भन्दै घटनाको विरोध गरिरहेको आयोगले जनाएको छ ।