अटो रिक्साले गाउँले जीवनलाई सहज

शुक्रबार, जेठ १४, २०७८

धनगढी । मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा घोडाघोडी नगरपालिका–५ का दलबहादुर विकलाई  पहिलाजस्तो यसपट चिन्ता र समस्या भएन ।  दलबहादुरले केही दिनअघि आफ्नी श्रीमती बिरामी भएपछि छिमेकीले सञ्चालन गरेको अटो रिक्सामा घोडाघोडी नगरपालिका–१ मा रहेको घोडाघोडी अस्पतालमा अस्पताल लगे । उपचार गरी सोही रिक्सामा घर फर्किए । मध्यरातमै अस्पताल लगेर उपचार गरेर बिहानै श्रीमतीलाई घर लिएर फर्केका दलबहादुर अटो छ र त आनन्द छ भन्दै थिए । 
टाउकोमा चोट लागेकी छोरीलाई पहलमानपुरस्थित पहलमानपुर पोलीक्लिनिकमा लिएर आएका घोडाघोडी नगरपालिका–११ का श्यामलाल कठरिया तनावका बीच भन्दै थिए, ‘अटोरिक्सा भएर छोरीलाई अस्पतालसम्म लिएर आउन सकँे नत्र के पो हुन्थ्यो । छोरीलाई चोट लाग्ने बित्तिकै फोन गरे र अटो आइपगेपछि छोरीलाई अस्पताल ल्याउन सकेँ, नत्र छोरीलाई धेरै समस्या हुने थियो ।’ 
स्थानीयस्तरमा अटो सञ्चालन भएदेखि आपत्विपत् पर्दा बिरामी अस्पतालसम्म पु¥याउन धेरै सहज भएको कठरियाको भनाइ छ ।
अहिले गाउँगाँउमा सञ्चालन भएका अटोरिक्साले गर्दा सामान्य काममा बजार निस्कनेदेखि लिएर बिरामी हुँदा अस्पताल लैजान निकै सहजता भएको छ । स्थानीय किसानले गाउँघरमा उत्पादन गरेका तरकारी तथा अन्य उत्पादनलाई बजारसम्म लैजानसमेत गाउँगाउँमा सञ्चालनमा आएका अटोरिक्साले गर्दा सहज भएको छ । घोडाघोडी नगरपालिका–२ का अगना चौधरीले आफूले उत्पादन गरेका फलहरू लिची र आँप बजारसम्म लैजान अटोरिक्साकै प्रयोग गर्ने गरेको बताए । पहिला–पहिला यस्तो सुविधा थिएन, साइकल चलाएर चर्को घाममा उत्पादित फलहरू लिएर बजारसम्म जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै सञ्चालित अटोरिक्साले गर्दा धेरै सहज भएको चौधरीको भनाइ छ । गाउँघरमा बिरामी बोक्ने, यातायातको पहुँचमा नभएका नागरिकलाई ग्रामीण भेगमै गएर गन्तव्यमा पु¥याउने गरेको पहलमानपुर बजार र आसपासमा अटोरिक्सा चलाउने टेकराज भट्टराईको भनाइ छ । रातारात बिरामीलाई पहलमानपुरबाट  करिब ६० किलोमिटर टाढा अस्पतालसमेत पु¥याएको उनले बताए । 
हामी दिनरात चौबीसै घण्टा सेवामा हुन्छाँै । हुन त यो हाम्रो व्यवसाय हो तर पनि हामीले सेवा गरेकोजस्तो काम हुन्छ । रातदिन नभनी हामी सेवा दिन्छौँ, त्यसैले नागरिकले सहजता महसुस गरेका छन् भन्छन, भट्टराई ।
गाउँगाउँमा अटो सञ्चालन भएका कारण मानिसले बिरामीलाई तत्काल अस्पताल पु¥याउने गरेका कारण उनीहरूमा जोखिम कम हुने गरेको पहलमानपुरमा रहेको लक्ष्मी मेडिकलकी सञ्चालक दिना चौधरी बताउँछन् । पहिला–पहिला मानिस यातायातका साधन नहुँदा अस्पतालसम्म आउन ढिला भएका कारण निकै समस्या भोग्ने गरे पनि आजभोलि अटोरिक्साका कारण गाउँले जीवनमा परिवर्तन आएको चौधरी बताउँछन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार