विपद् व्यवस्थापनको असल अभ्यास अवलोकनका लागि सुदूरपश्चिमका तीन पालिका ललितपुर महानगरमा

महानगर प्रमुख भन्छन्, ‘संघीय सरकारले विपद्लाई महत्व दिएन' 
सोमबार, वैशाख २४, २०८१

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको बताएका छन् । विपद व्यवस्थापन र न्यूनीकरणको सन्दर्भमा भएका असल अभ्यासहरुको अवलोकनका लागि ललितपुर महानगर आएका सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगर, अमरगढी नगरपालिका डडेलधुरा र जयपृथ्वी  नगरपालिका बझाङका नगप्रमुख र कर्मचारीसँगको छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।  स्थानीय तहले आआफ्नो तरिकाले विपद्को बारेमा चेतना जगाउन प्रति कार्य अभ्यास (ड्रिल) का कार्यहरु गरेपनि संघीय सरकारले राष्ट्रिय स्तरको ड्रिल नगरेको उनले स्पष्ट पारे । उनले भने, ‘यो भेटघाटले संघीय सरकारसँग राष्ट्रिय स्तरको ड्रिल गर्न प्रस्ताव गरौं ।’ सुुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सुपर परियोजनाको समन्वयका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमी आदान प्रदान गर्न यो अवलोकन भ्रमण आयोजना गरिएको हो ।  ललितपुर महानगरले विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको बताउँदै महानगर प्रमुख छिमेकी पालिकालाई समेत विपद्का बेला पर्याप्त सहयोग गरेको बताएका छन् ।   महानगरले सहरभित्रका अन्य चार ठाउँमा पनि विपद व्यवस्थापन तथा न्यूनीकरण गर्न अन्य चार स्थानमा विपद् उपकेन्द्र खोल्ने तयारी गरेको बताए । प्रभावकारी सेवा प्रवाह गर्न सक्ने दमकल, नगर प्रहरी,  एम्बुलेन्सका लागि विपद्का बेला जोखिम न्यूनीकरण गर्न महानगर सवल र सफल भएको उनको दाबी थियो । महानगर प्रमुख महर्जनले भने, ‘हामीले दमकलसँगसँगै एम्बुलेन्स पनि जाने व्यवस्था मिलाएका छौं, एम्बुलेन्ससँगै जाँदा, घाइतेलाई अस्पताल छिटो पु¥याउन सजिलो हुन्छ, जसले गर्दा मनवीय क्षति कम हुन्छ ।’ महानगरले आगलागी जस्ता विपद्का बेला चारमिनेट भित्र घटना स्थलमा दमकल र एम्बुलेन्स र नगरप्रहरी पुग्ने नीति लिएको बताए ।  धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले एक्लो प्रयासले मात्रै विपद व्यवस्थापन र न्यूनीकरण संभव नहुने बताए । उनले भने, ‘मिलेर काम गरौँ , मिलेर काम गर्दा कसको भूमिका के हो प्रष्ट हुनुप¥यो ।’ हमालले विपद् व्यवस्थापनमा धनगढीले उल्लेख्य काम गरेको बताए ।  ललितपुर महानगरबाटै सबै क्षेत्रमा धेरै कुरा सिकेको बताउँदै भने, ‘अरुले आफ्नो पालिकामा  भएको काम हामीलाई देखाउँदैनन् , तर ललितपुरका मेयरले हामीले सजिलै सिकाउनु हुन्छ, सिक्नका लागि उहाँ साह्रै सजिलो मान्छे हुनुहुन्छ । धनगढीले युवा र बालबालिकालाई विपद्का बारेमा सक्षम र जानकार बनाएको बताउँदै भने,‘ विपदका प्रयोग हुने सामग्रीलाई विद्यालयमा राखेका छौं, विद्यालयमा ती सामग्री राख्दा प्रभावकारी भएको छ । ’ धनगढीले सरसफाई लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको उनले दाबी गरे । 

Bipad-1714980736.jpg
ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जनतालाई विपद्का बारेमा जति सुसूचित र जानकार गराउन सक्यो त्यति नै विपद्का बेला क्षति न्यून हुने बताइन् । विपद् व्यवस्थापन र न्यूनीकरणका सन्दर्भमा महानगरले फरक ढंगले काम गरेको बताउँदै यो भ्रमणले महानगरको गौरव बढाएको बताइन् । अमरगढी नगरपालिका डडेलधुराका प्रमुख डिल्लीराज जोशीले विपद्का बेलामा अपनाउनुपर्ने सजगताका बारेमा जानकारी दिन ड्रिल अत्यावश्यक र महत्वपूर्ण भएको बताए । उनले भने,‘केन्द्रीय स्तरमा मात्रै होइन, क्षेत्रीय स्तरमा पनि ड्रिल आयोजना गर्नुपर्छ । ’ संघीय सरकारले विपद् जोखिम न्यूनीकरणलाई महत्व नदिएको पनि उनले आरोप लगाए ।
जयपृथ्वी नगरपालिका बझाङका प्रमुख चेतराज बजालले आफ्नो नगरपालिकाको भौगोलिक अवस्थाको बारेमा चर्चा गर्दै आफ्नो नगरपालिका भूकम्प र बाढीको जोखिममा रहेको बताए । गाउँमा दमकल जानसक्ने सडक निर्माण गर्न बजेट अभावका कारण पालिका असमर्थ भएको बताउँदै साँघुरा सडकका कारण सहरका अन्य ठाउँमा पनि दमकल पुग्न कहिले काहिं हम्मे हम्मे हुने बताए ।  सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील वैद्यले विपद्मा प्रदेशले स्थानीय तहसँग समन्वय गर्न र असल अभ्यासहरुका बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरेको प्रष्ट पारे ।  भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल९एन्सेट०का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले तीन तहका तालिम प्राप्त जनशत्तिसँग सहकार्य गरेमा विपद्बाट हुने क्षति न्यूनीयकरण गर्न सकिने बताए । विपद्को घटना भएको चार मिनेटभित्र दमकल, एम्बलेन्स पु¥याउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताउँदै भने, ‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा तीन मिनेट भित्र पुगेको देखिन्छ, यो सहकार्य र समन्वयबाट संभव हुने हो ।’  विपद् व्यवस्थापन शाखाका प्रमुख हरिशचन्द्र लामिछानेले महानगरले विपद् व्यवस्थापन र न्यूनीकरणका लागि गरेका काम समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार