प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

आइतबार, वैशाख २३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेकी छन् ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए। भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताए ।

WhatsApp-Image-2024-05-05-at-18.06.50-1714912019.jpeg
उनले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गरे ।  “नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु ।”    सो अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिइन् । उनले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो । 

परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेकी जापानकी विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको हो । भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबीचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको बताए । जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी भने नभएको बताइएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राती नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार