सरकारको दाबि गर्न नाउपाका लक्ष्मणकिशोर प्रदेश प्रमुख कार्यालय पुगे

आइतबार, वैशाख २, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर चौधरी कांग्रेस र एकीकृत समाजवादीका सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।  आज सरकार दाबी गर्न प्रदेश प्रमुखले तोकेको अन्तिम दिन हो । आइतबार प्रदेशको ठूलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेपछि उनी सरकारकाे नेतृत्व गर्न प्रदेश प्रमुखकाे कार्यालय गएका हुन् । 

प्रदेश सरकार निर्माणका लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको छ । कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको थियो । समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहकाबीच सहमति भएको हो । 

सुदूरपश्चिममा काँग्रेसका १८, एकीकृत समाजवादीका चार र र नाउपाको रेशम चौधरी पक्षका चार सांसद छन् । यो सहमतिपछि सुदूरपश्चिममा बहुमतको लागि आवश्यक २६ मत पुग्ने भएको छ । 

केन्द्रको नयाँ समीकरणका दलहरुबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान थियो । नाउपाकी  अध्यक्षा रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग नयाँ सहमति गरेको हो । ५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य कायम छन् । सुदूरपश्चिमका एक सांसदको निधन भएको छ भने नाउपाले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपछि ५१ सदस्य छन् । यस अवस्थामा सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार