सुदूरपश्चिममा केन्द्रलाई काउन्टर, नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहितको सहमति

आइतबार, वैशाख २, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तिब्र गतिमा बढेको छ । आइतबार प्रदेशको ठूलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ । प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो ।  कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको दाबी गरिएको छ । समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहकाबीच सहमति भएको हो ।  सुदूरपश्चिममा काँग्रेसका १८, एकीकृत समाजवादीका चार र र नाउपाको रेशम चौधरी पक्षका चार सांसद छन् । यो सहमतिपछि सुदूरपश्चिममा बहुमतको लागि आवश्यक २६ मत पुग्ने भएको छ ।  यद्यपी केन्द्रको नयाँ समीकरणका दलहरुबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान थियो । नाउपाकी  अध्यक्षा रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले नयाँ एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग नयाँ सहमति गरेको हो । ५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य कायम छन् । सुदूरपश्चिमका एक सांसदको निधन भएको छ भने नाउपाले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपाछि ५१ सदस्य रहेका छन् । याे अवस्थामा सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ । प्रदेश प्रमुखले सरकार गठनको दाबी गर्न आज अपराहन्न ५ बजेसम्मको समय दिएका छन् । यस अघि सुदूरपश्चिममा नाउपा भित्रको विवादले थप राजनीतिक घटनाक्रम विकसित हुनसक्ने अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार