वनस्पति ऐन मन्त्रालयको पहिलो प्राथमिकतामा छ : वनमन्त्री साह 

बिहीबार, चैत २९, २०८०

काठमाडौं । वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले वनस्पति विभागका कार्यलाई प्रभावकारी बनाउन प्रस्तावित वनस्पति स्रोतसम्बन्धी विधेयकलाई ऐन बनाउनु मन्त्रालयको पहिलो प्राथमिकता भएको बताएका छन् ।
‘वनस्पति विभागले गरिराखेका कार्यहरुलाई थप प्रभावकारी बनाई आम जनसमुदायसम्म पुर्याउन तत्काल वनस्पति ऐन आवश्यक रहेको छ । मेरो र मन्त्रालयको पहिलो प्राथमिकता पनि प्रस्तावित वनस्पति स्रोतसम्बन्धी विधेयकलाई ऐनको रुपमा ल्याउनु हो । ऐन बनाउन मेरो सम्पूर्ण प्रयास रहन्छ ।’
उनले राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न भौगोलिक क्षेत्र र हावापनीमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समय सापेक्ष विकास गरी पर्यटन विकास सँगै स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको पनि बताएका छन् ।  
बिहीबार ललितपुरमा आयोजित वनस्पति विभागको ६७ औं वार्षिकोत्सव तथा २५ औं वनस्पति दिवस कार्यक्रममा मन्त्री शाहले देशभित्र रहेका सबै वनस्पति उद्यानलाई समय सापेक्ष बनाएर त्यसबाट रोजगारी र पर्यटन प्रर्बद्धन गर्नुपर्नेमा जोड दिएका हुन । 
‘देशका विभिन्न भौगोलिक क्षेत्र र हावापनीमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समय सापेक्ष विकास गरी पर्यटन विकास सँगै स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक छ ।जडिबुटी खेतीमार्फत स्थानीयको आयआर्जनमा टेवा दिने र प्रयोगशालाका कार्यलाई थप प्रभावकारी बनाई जडिबुटी र सुगन्धित तेलको व्यापार प्रर्बद्धनमा निरन्तरता दिनुपर्छ’ मन्त्री सुडीले भने । 
उक्त कार्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग मिलेर खोज, प्रभावकारी अध्ययन अनुसन्धान गरी प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । 
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा।दीपककुमार खरालले आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाडसम्बन्धि ऐन बनाउन मन्त्रालयले मस्यौदा तर्जुमा गरी सरोकारवालसँग छलफलको अन्तिम चरणमा रहेको बताए । 
उनले सकेसम्म यही संसदको अधिवेशनबाट पारित गर्ने गरी वातावरण विभाग र मन्त्रालयको महाशाखाले तयारी गरिरहेको जानकारी गराए । लामो समयदेखि विचाराधीन अवस्थामा रहेको वनस्पति स्रोतसम्बन्धी विधेयक संसदमा लैजान मन्त्रालयले स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाइसकेको भनाई सचिव खरालको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार