सगरमाथाको चुचुरोमा बाबु–छोरासँगसँगै 

१६ वर्षीय सोनाम सगरमाथा आरोहण गर्ने कान्छो आरोही हुन सक्ने
आइतबार, जेठ ९, २०७८

ताप्लेजुङ । मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ८ बजेर ५० मिनेट जाँदा सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए ।  दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका हुन् । सोनाम एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर गएका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताए । यता पर्यटन विभागले समेत उनीहरुले सगरमाथा आरोहण गरेको सूचना आएको जनाएको छ । ‘पिके शेर्पा’ र उनका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ’, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन् । उनका अनुसार एक्सपिडिशन रिपोर्ट आएपछि विभागले छानबिन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ ।  यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ । अहिले नै यसै हो भनेर भन्न नसकिने उनले स्पष्ट पारे । ‘१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उनी १६ वर्ष पूरा भएर आएका थिए, पूर्णरुपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सकिन्छ’, आचार्यले भनिन् । विसं २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।–रासस
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार