घरमा हुने सुत्केरीलाई शुन्यमा झार्दै रोल्पाली स्वास्थ्य संस्था, निषेधाज्ञामा पनि रोकिएन सेवा

रोल्पाली स्वास्थ्य संस्थाबाट १२१ गर्भवतीले लिए सेवा 
आइतबार, जेठ ९, २०७८

रोल्पा । कोभिड­१९ को दोश्रो लहर फैलिएसँगै भएको निषेधाज्ञाले जिल्लाको जनजीवन ठप्प छ । यातायातका साधनहरू नचल्दा अत्यावश्यकीय काम समेत प्रभावित भएका छन् । यस्तो अवस्थामा समेत रोल्पाका स्वास्थ्य संस्थामा प्रसुती सेवाले भने  निरन्तरता  पाइरहेको  छ । आमा बन्न स्वास्थ्य संस्था धाउने  गर्भवतीको संख्यामा गिरावट आएको छैन । स्वास्थ्यकर्मीले कोरोनाको रोकथाम तथा उपचारका साथै  स्वास्थ्य संस्थाका नियमित कामलाई समेत निरन्तरता दिइरहेका छन । राज्यको पहिलो प्राथमिकतामा रहेको आधारभूत स्वास्थ्य सेवा अन्तरगत प्रसुती सेवाले यस्तो समयमा पनि निरन्तरता पाइरहेको छ । घरमा हुने सुत्केरीले आमा तथा शिशुमा स्वास्थ्य  सङ्क्रमण देखिदा मातृ र बालमृत्यु दर बढेको भन्दै सरकारले संस्थागत प्रसुतीलाई महत्वपूर्ण कार्यक्रमका रूपमा अघि सारेको छ  ।
कोरोनाको दोस्रो लहरपछि भएको निशेषज्ञा अवधिमा रोल्पा अस्पतालमा ६२ जनाले गर्भवती सेवा लिएका छन् । यसै अवधिमा अस्पतालमा १९ जनालाई प्रसुती सेवा दिएको रोल्पा अस्पतालका सिनियर स्टाप नर्स मीना कवरले जानकारी दिनुभयो । यस अवधिमा अस्पतालले सात जनालाई जिल्ला वाहिर पठाएको थियो । सुनिल स्मृति गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा १८ जनांले गर्भवती सेवा लिएका थिए । यो अवधिमा  प्रसूति सेवा लिनेको संख्या आठ जना रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका स्टाप नर्स खिमा गिरीले जानकारी  दिइन् । माडी गाँउपालिकाको घर्तीगाउँ स्वास्थ्य  चौकीले  यो अवधिमा  २२  जनालाई गर्भवती सेवा दिएको थियो । घर्तीगाउँ स्वास्थ्य चौकीका अनुसार यस  अवधिमा  स्वास्थ्य  संस्थामा आएर प्रसुती सेवा लिनेको सङ्ख्या चार जना रह्यो ।  
जिल्लाका यी तीन घना वसोवास भएका शहरोन्मुख  स्वास्थ्य संस्थाको आँकडा अनुसार विपदको घडीमा पनि आधारभूत स्वास्थ्य सेवाले निरन्तरता पाएको छ । सुरक्षित मातृत्व सेवाअन्तर्गत गर्भवती महिलाले सामान्य गर्भावस्थामा कम्तीमा चारपटक स्वास्थ्य चेकजाँच गर्नुपर्दछ । यसका साथै स्वास्थ्य  स्याहारसम्बन्धी समुचित परामर्श सेवा लिने  तथा गर्भावस्थामा अलवम्बन गर्नुपर्ने सुधारका उपाय तथा न्यूनतम  सेवा गर्भवती सेवाअन्तर्गत पर्दछन् । सुरक्षित प्रसुतीका लागि भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । नागरिकको सुविधालाई मध्यनजर गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना भएका भनिएका ती वर्थिङ सेन्टरमा प्रसुती गराउने आमाहरूको सङ्ख्या भने आधाभन्दा कम छ । अघिल्लो वर्ष गर्भवती भएकामध्ये झण्डै  ६३ प्रतिशत आमाले वर्थिङ सेन्टरमा पुगेर प्रसुती गराएका थिए । प्रसुतीका लागी वर्थिङ सेन्टर जाने गर्भवतीको संख्यामा क्रमिक सुधार हुँदै आए पनि अवस्था सन्तोषजनक भैनसकेको सरोकारवालाहरू बताउँछन् ।   आर्थिक वर्ष २०६९÷७० मा संस्थागत  सुत्केरी ३८ प्रतिशत मात्रै रहेको  रोल्पामा आर्थिक वर्ष २०७४÷७५ मा यो सङ्ख्या  वढेर ५३।७ प्रतिशत पुगेको थियो । यसैगरी आर्थिक वर्ष २०७५÷७६ मा यो संख्या ६०।८ प्रतिशत रहेकामा अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या ६२.९ प्रतिशत रहेको स्वास्थ्य कार्यालय रोल्पाको प्रतिवेदनमा उल्लेख छ ।

 

घरमा  हुने सुत्केरी शून्य अभियानमा 
जिल्लाका स्थानीय तह घरमा हुने प्रसुतीलाई शून्यमा झार्ने अभियानमा  जुटेका छन् । घरमा हुने सुत्केरीले आमा र नवजात शिशु दुवैलाई खतरा हुने  पाइएकाले शत प्रतिशत संस्थागत सुत्केरी अभियान सञ्चालन गरेको उनीहरूको भनाइ छ ।
जिल्लाको  लङ्ग्री गाउँपालिका­१  पाङलाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिसकेको छ भने गाउँपालिकाले चालु आर्थिक वर्ष वडा नं. ४ र ५ लाई  पनि घरमा हुने सुत्केरी शून्य वडा घोषणाको तयारीमा लागेको छ  । सात वटा वडा रहेको गाउँपालिकाले आगामी वर्षभित्र सबै  वडालाई घरमा  हुने शून्य प्रसुती वडा घोषणा गर्दै गाउँपालिका  नै घरमा हुने शून्य प्रसुती वडा घोषणाको तयारीमा लागेको हो । ‘स्वास्थ्यकर्मी, आमा समूह र महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेर यसै वर्ष दुई वडा पनि सुत्केरी शून्य वडा बनाउँदै छौं’, गाउँपालिकाका स्वास्थ्य संयोजक लेपेन्द्र वुढाथोकीले भने । समग्र गाउपालिकामा संस्थागत सुत्केरीको अवस्था कस्तो छ भनेर घरधुरी सर्वेक्षण गरी केही वर्षभित्रै गाउँपालिकालाई नै घरमा  हुने सुत्केरी शून्य घोषणा गर्ने तयारी रहेको संयोजक वुढाथोकीले बताए । 
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न सो गाउँपालिकाको ४ नं वडाले सुत्केरी र गर्भ जाँच गर्न  स्वास्थ्य संस्था आउने गर्भवतीहरूलाई नुन तेल प्रदान गर्ने गरेको छ । अघिल्लो  वर्षदेखि  नै  यो अभियान सुरु  भएपनि यस वर्ष घरमा हुने सुत्केरी  शून्य वडा घोषणा गर्ने गरी काम थालनी भएको वडा कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ०७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार