राप्रपाका नेता उद्धव थापाले मुख्यमन्त्रीलाई सोधे, ‘५ वर्षमा कतिपटक लिनुहुन्छ विश्वासको मत ?’

मंगलबार, चैत २०, २०८०

मकवानपुर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेश सभाका संसदीय दलका नेता उद्धव थापाले एमाले र हाम्रो नेपाली पार्टीका नेताका चरित्रप्रति व्यंग्य गरेका छन् । 
प्रदेश सभा बैठकमा सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा उनले प्रमुख दलले प्रणाली नै बिगारेको बताए । उनले भने ‘तीनपल्ट भयो । ५ वर्षमा कतिपटक लिनुहुन्छ विश्वासको मत ?’  केही समयअघि एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालको नाम लिँदा मुख कुल्ला गर्नुपर्ने दिएको अभिव्यक्तिप्रति इंगित गर्दै उनले शीर्ष नेताहरुको भनाइ र गराइमाथि कटाक्ष गरे । यस्तै हाम्रो नेपाली पार्टीका संसदीय दलको नेताको चरित्रप्रति उनले कटाक्ष गरेका छन् । एक वर्षसम्म जम्मकट्टेल सरकारलाई विश्वासको मत दिएको हानेपाले गत हप्ता समर्थन फिर्ता लिएको थियो । तर तीन दिन नबित्दै मन्त्री नियुक्त भएकोमा थापाले सोधे – ‘यस्तो कसरी हुन्छ ?’  

Photo-1711974531.jpeg

‘हिजोसम्म तथानाम भनेका नेताहरू आज सँगैसँगै मिलेको देख्छु । नाम लिँदा कुल्ला गर्छु भन्ने नेताहरू आज एकै ठाउँमा हुनुहुन्छ । यो प्रणालीको समस्या हो,’ उनले भने, ‘एक हप्तासम्म मत दिन्न भन्ने, एक दिनमै मन्त्री बन्ने, यो कस्तो अवस्था हो ? यो प्रणालीको समस्या हो ।’
यस्तै उनले प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले १६ महिनामा तेस्रोपटक विश्वासको मत लिएकोमा पनि प्रश्न गरे ।
‘निर्वाचनको बेला गठबन्धन बनाएर जानुभयो । पहिलो पटक ४ मतबाहेक सबै मत पाउनुभयो । मुख्यमन्त्रीले के गर्न खोज्नुभएको थाहा छैन । दोस्रोपटक ६७ मत पाउनुभयो । अहिले कति मत पाउनुहुन्छ हेर्नुपर्छ,’ उनले भने, ‘२० वर्ष जान्छ भनेको गठबन्धन एक वर्ष पनि टिकेन । यसले कस्तो राजनीति सिर्जना गर्दै हुनुहुन्छ ? विश्वासको मत पाँच वर्षसम्म कति पटक लिनुहुन्छ ?’ 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार