बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मंगलबार, चैत २०, २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।
नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ रहेको छ । आजको प्रदेश सभामा १०८ जना सदस्य सहभागी थिए । विश्वासको मतको विपक्षमा ३७ मत परेको छ । १५ सांसद तटस्थ बसेका छन् ।
२५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन् । पहिलो पटक ३ माघ २०७९ मा विश्वासको मत लिंदा उनलाई प्रदेशसभाका ६ दलको समर्थन थियो । उनले ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका थिए । त्यतिबेला उनलाई नेपाल मजदुर किसान पार्टीका ३ जना सांसदले मत दिएका थिएनन् भने एक जना अनुपस्थित थिए ।
तर नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए ।
त्यतिबेला उनलाई प्रदेशसभाका ६७ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई उनको दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मत दिएको थियो । विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले मत दिएका थिए ।

बागमतीमा एकीकृत समाजवादीकी रमा आले मगर मन्त्री नियुक्त

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सोमबार मन्त्री नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयमा आज मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।


उनको मन्त्रालय भने टुङगो लागेको छैन । रमा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् । प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद रहेकी उनी एक वर्षअघि चैतमै भएको सरकार विस्तारको क्रममा शपथको निम्तो पाएर पनि खाली हात काठमाडौं फर्कनु परेको थियो ।
सोमबार जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनको लागि बोलाइएको प्रदेशसभा बैठक सांसद मगरकै कारण चार घण्टा प्रभावित बनेको थियो ।
दिउसो १ बजेसम्म काठमाडौंमै रहेकी उनले विगतको घटनालाई कारण देखाएर विश्वासको मत दिन हेटौंडा आउन अस्वीकार गरेकी थिइन् ।  मन्त्री पद दिने प्रतिवद्धतापछि उनी साढे ३ बजेभित्र हेटौंडा आएकी थिइन् । उनी आएपछि मात्रै प्रदेशसभा बैठक साढे ४ बजे सुरु भएको थियो र मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाए ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार