सहकारीमाथि घटेको विश्वासप्रति मन्त्रीले व्यक्त गरे चिन्ता

सोमबार, चैत १९, २०८०

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुमाथि घट्दो विश्वासप्रति चिन्ता व्यक्त गरेका छन् । सहकारीको उद्देश्य समाज हितकारी भएकाले त्रुटिहरु सच्याएर अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।  ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले सहकारी सरकारको तीन खम्बे अर्थ नीतिको एउटा खम्बा भएको भन्दै मुलुकमा सहकारीको सम्भावना रहेको बताए । तर, सहकारीहरु मुलुकको भूगोल र जनसंख्याको संरचना सुहाउदो हुनुपर्नेमा उनले जोड दिए । 
उनले भने, ‘सहकारी सरकारको तीन खम्बे अर्थ नीतिको एउटा खम्बा हो । सरकारले यो मान्यतालाई अगाडि बढाएको छ । सहकारीलाई ओझेलमा पारेर अरु विधिबाट जान खोजिएको छ । हाम्रो भूगोल र संरचनालाई हेर्ने हो भने हामी सहकारीबाट नै जानुपर्छ । त्यसकारण सहकारिता मुख्य खम्बा हो ।’

सहकारीप्रतिको विश्वास घट्दै गएको भन्दै उनले अहिले फिजाइएको भ्रमलाई चिर्नको लागि ध्यान दिन आवश्यक भएको बताए ।  उनले भने, ‘कुन कुन ठाँउमा त्रुटि भएको छ त्यो पनि हेर्नुपर्छ । सहकारी र जनता सबै एकै स्थानमा जोडिने हो भने हामी सफल हुन्छौ । अहिले फिजाइएको भ्रमलाई चिर्नको लागि केही गर्नुपर्ने अवस्था आएको छ । सहकारीप्रतिको जुन विश्वास थियो, अहिले घटेको छ । त्यसकारण यतातिर पनि ध्यान दिन आवश्यक छ ।’ 
मुलुकमा विद्यमान सहकारीका समस्या समाधनका लागि काम भइरहेको भन्दै उनले विश्वास दिलाए । सरकारले सहकारीपीडितका हकमा कर्जा असुली केन्द्र गठनको प्रारुप तयार पारिसकेको उनले बताए । ‘हामीले बाहिर सुशासन सुशासन भनेर कुनै अर्थ हुँदैन । हाम्रो प्रवृत्ति बढी कागजी कुरा गर्ने, बढी व्याख्या विश्लेषण गर्ने, व्यवहारमा कम ल्याउने छ, यसलाई हामीले सच्चाउनै पर्छ यो नै सुशासन हो,’ उनले भने, ‘कर्जा असुली केन्द्र गठन गर्ने कुरामा पनि हामीले प्रारुप तयार गरेर पठाइसकेको अवस्था छ । देखिएका समस्याहरु समाधान गर्नका लागि के के गर्नुपर्छ त्यसको लागि पनि प्रक्रिया अगाडि बढाउनु पर्छ ।’ 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार